अपराध नियन्त्रणदेखि सडक सुरक्षासम्म: टोखाले बढाउँदै सीसीटीभी निगरानी


काठमाडौं । टोखा नगरपालिकाले नगर क्षेत्रको शान्ति, सुरक्षा र सुशासन प्रवर्द्धनका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीसँग सीसीटीभी (CCTV) प्रणाली विस्तार तथा सञ्चालनमा सहकार्य गर्ने भएको छ।

नगरपालिकाले बिहीबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार दुवै पक्षबीच द्विपक्षीय समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको हो। समझदारीपत्रमा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी तथा काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुरेश सिंह राठौरेले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार नगरभित्र पहिचान गरिएका मुख्य सडक, चोक तथा संवेदनशील स्थानहरूमा नेपाल प्रहरीले निर्धारण गरेको मापदण्डअनुसार अत्याधुनिक प्रविधियुक्त सीसीटीभी क्यामेरा जडान गरिनेछ। जसमध्ये पीटीजेड (PTZ), फेस रिकग्निसन (अनुहार पहिचान) तथा एएनपीआर (सवारी नम्बर प्लेट पहिचान) प्रणालीसमेत समावेश रहने जनाइएको छ।

नगरपालिकाले ‘जनता सुरक्षा कार्यक्रम’ अन्तर्गत यस परियोजनाका लागि करिब ४ करोड रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ। खरिद तथा जडान प्रक्रिया प्रचलित सार्वजनिक खरिद कानुनअनुसार प्रहरी कार्यालयको समन्वयमा अघि बढाइनेछ।

विज्ञप्तिअनुसार परियोजनाको नियमित अनुगमनका लागि नगरपालिका र प्रहरीका प्रतिनिधि सम्मिलित समिति गठन गरिनेछ। समितिको सिफारिसका आधारमा आगामी दिनमा कार्यक्रमलाई विस्तार, स्तरोन्नति तथा नयाँ प्रविधिको प्रयोगसमेत गरिने उल्लेख छ।

नगरपालिकाले यस योजनाले अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन, सार्वजनिक सुरक्षा तथा वातावरणीय सरसफाइमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ। साथै नगरभित्र यसअघि जडान भएका सीसीटीभी प्रणालीलाई पनि नयाँ प्रणालीसँग एकीकृत गरिने जनाइएको छ।

टोखा नगरपालिकाले सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री नगर निर्माण अभियानमा सहयोग पुर्‍याएको भन्दै प्रहरी प्रशासन, जनप्रतिनिधि तथा स्थानीयवासीप्रति आभार व्यक्त गरेको छ।