नियामकीय मापदण्ड उल्लंघनमा तीन वाणिज्य बैंकमाथि राष्ट्र बैंकको कारबाही, पूर्वसीईओ अशोक शेरचनलाई पाँच लाख जरिवाना


काठमाडौं । नेपाल राष्ट्र बैंक ले नियामकीय मापदण्ड तथा वित्तीय निर्देशन पालना नगरेको भन्दै तीन वाणिज्य बैंकमाथि सुपरिवेक्षणात्मक कारबाही गरेको छ। कारबाहीमा प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंककृषि विकास बैंक परेका छन्। यससँगै प्रभु बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई ५ लाख रुपैयाँ नगद जरिवाना गरिएको छ।

राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागका अनुसार प्रभु बैंकले कर्जा वर्गीकरणसम्बन्धी अनिवार्य व्यवस्था पालना नगरेको, सम्भावित कर्जा नोक्सानीका लागि आवश्यक प्रावधान (प्रोभिजनिङ) पर्याप्त नराखेको तथा राष्ट्र बैंकमा पेश गरिएका कर्जा विवरण बैंकको कोर बैंकिङ प्रणालीमा रहेको अभिलेखसँग नमिलेको भेटिएको थियो। सोही आधारमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १००(२)(ग) बमोजिम तत्कालीन सीईओ अशोक शेरचनलाई पाँच लाख रुपैयाँ जरिवाना गरिएको हो।

यता राष्ट्रिय वाणिज्य बैंकले अद्यावधिक बैंक खाता सञ्चालनसम्बन्धी व्यवस्थाअनुसार तोकिएका बैंक खाताहरू निर्धारित समयभित्र रोक्का (फ्रिज) नगरेको पाइएपछि नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १००(१)(क) बमोजिम औपचारिक चेतावनी दिइएको छ।

त्यसैगरी कृषि विकास बैंकको सुपरिवेक्षणका क्रममा सञ्चालन तथा व्यवस्थापनमा कमजोरी देखिएपछि आवश्यक सुधारात्मक उपाय अवलम्बन गर्ने लिखित प्रतिबद्धता (Written Commitment) पेश गर्न निर्देशन दिइएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार यस्ता सुपरिवेक्षणात्मक कारबाहीको उद्देश्य बैंकिङ संस्थाहरूमा सुशासन सुदृढ गर्नु, वित्तीय प्रतिवेदनको पारदर्शिता कायम गर्नु तथा सम्पूर्ण बैंकिङ प्रणालीमा नियामकीय अनुपालनलाई कडाइका साथ कार्यान्वयन गराउनु हो।