काठमाडौं। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले चालु आर्थिक वर्षभित्र प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा एक लाख रोजगारी सिर्जना गर्ने लक्ष्य हासिल गर्न कुनै कसर बाँकी नराखी काम गर्न मन्त्रालय तथा मातहतका निकायलाई निर्देशन दिएका छन्।
आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (MDAC) को बैठकलाई अध्यक्षता गर्दै मन्त्री यादवले मन्त्रालयअन्तर्गतका विभाग, बोर्ड तथा अन्य निकायलाई सेवा प्रवाहलाई थप प्रभावकारी, छिटोछरितो र नागरिकमुखी बनाउन आवश्यक निर्देशन दिएका हुन्।
उनले वैदेशिक रोजगार विभागमा प्राप्त हुने गुनासोलाई ‘इमर्जेन्सी’, ‘हाई प्रायोरिटी’ र ‘नर्मल’ गरी वर्गीकरण गरेर प्राथमिकताका आधारमा तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाउन निर्देशन दिए। साथै, ७५३ वटै स्थानीय तहबाट श्रम स्वीकृतिको सहजीकरणका लागि आवश्यक युजर आईडी र पासवर्ड वितरण गरी प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउन पनि उनले जोड दिए।
मन्त्री यादवले विदेशमा रहेका नेपाली श्रमिकका लागि २४/७ टेलिमेडिसिन सेवा तथा ‘श्रमदान कल सेन्टर’लाई अझ प्रभावकारी बनाउनुपर्ने उल्लेख गर्दै श्रमिकका समस्या समाधानमा मन्त्रालय ‘रियाक्टिभ’ होइन, ‘प्रो–एक्टिभ’ रूपमा अघि बढ्नुपर्ने बताए।
बैठकमा उनले मन्त्रालयका कर्मचारीका लागि दैनिक कार्यसम्पादनको ‘टाइमसिट’ अनिवार्य रूपमा भर्ने प्रणाली लागू गर्न निर्देशन दिँदै नीतिगत निर्णय र कार्यक्रमले नागरिकको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउनुपर्नेमा जोड दिए।
“हामीले गरेका नीतिगत निर्णय र कार्यक्रमहरूले नागरिकको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउनुपर्छ। हरेक कामको स्पष्ट कार्ययोजना बनाई जिम्मेवारीपूर्वक कार्यसम्पादन गर्दै परिणाममुखी ढंगले अघि बढ्न म सबैलाई आग्रह गर्दछु,” मन्त्री यादवले भने।
बैठकमा मन्त्रालय तथा मातहतका निकायले गत आर्थिक वर्षका कार्यक्रम र उपलब्धिको समीक्षा गरेका थिए। कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्रिय युवा परिषद् लगायतका निकायका प्रतिनिधिको सहभागिता रहेको थियो।