काठमाडौं। बेल्जियममा करिब दुई दशकको बसाइँपछि स्वदेश फर्किएका गैरआवासीय नेपाली (एनआरएन) अर्जुनकुमार गुरुङले आफ्नो जीवनयात्रा, विदेश बसाइँका अनुभूति र मातृभूमिप्रतिको भावनालाई समेटेर लेखेको पुस्तक ‘घुम्दै फिर्दै नेपालतिरै’ सार्वजनिक गरेका छन्।

काठमाडौंमा आयोजित एक समारोहबीच इतिहासविद् डा. जगमान गुरुङले पुस्तकको औपचारिक विमोचन गरेका हुन्। कार्यक्रममा साहित्यकार, बुद्धिजीवी, गैरआवासीय नेपाली, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो।

पुस्तकमा लेखक गुरुङले बेल्जियममा बिताएका करिब दुई दशकका अनुभव, आप्रवासी नेपालीको संघर्ष, सफलता, सांस्कृतिक पहिचान, मातृभूमिप्रतिको मोह तथा अन्ततः नेपाल फर्किने आफ्नो यात्रालाई संस्मरणात्मक शैलीमा प्रस्तुत गरेका छन्।

पुस्तक विमोचन गर्दै इतिहासविद् डा. जगमान गुरुङले विदेशमा बसेर पनि आफ्नो देश, समाज र पहिचानसँगको सम्बन्धलाई जीवन्त राख्दै अनुभवलाई पुस्तकका रूपमा अभिलेखीकरण गर्नु प्रशंसनीय कार्य भएको बताए। उनले यस्ता कृतिले आगामी पुस्तालाई आप्रवासी नेपालीहरूको जीवन बुझ्न महत्वपूर्ण सन्दर्भ सामग्री प्रदान गर्ने धारणा व्यक्त गरे।

लेखक अर्जुनकुमार गुरुङले विदेशमा बिताएका वर्षहरूले आफूलाई धेरै सिकाएको उल्लेख गर्दै अन्ततः आफ्नो अनुभव समाजसँग बाँड्ने उद्देश्यले पुस्तक लेखेको बताए। उनका अनुसार ‘घुम्दै फिर्दै नेपालतिरै’ केवल व्यक्तिगत संस्मरण नभई विदेशिएका नेपालीको भावना, संघर्ष र स्वदेशप्रतिको आकर्षणको कथा पनि हो।

कार्यक्रममा सहभागी वक्ताहरूले लेखक गुरुङलाई सफल व्यवसायी र समाजसेवीसँगै अब लेखकका रूपमा पनि नयाँ पहिचान स्थापित गरेको भन्दै बधाई तथा शुभकामना व्यक्त गरेका थिए। उनीहरूले पुस्तकले वैदेशिक अनुभव र स्वदेश फर्किने प्रेरणालाई सकारात्मक रूपमा प्रस्तुत गरेको उल्लेख गरे।

कार्यक्रममा लेखककी जीवनसाथी रेणु गुरुङको योगदानको समेत प्रशंसा गरिएको थियो। वक्ताहरूले पुस्तक तयार पार्ने यात्रामा परिवारको निरन्तर साथ र सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्दै दम्पतीलाई सफल साहित्यिक यात्राको शुभकामना दिएका थिए।

‘घुम्दै फिर्दै नेपालतिरै’ पुस्तकले विदेश बसाइँका अनुभव, नेपाली प्रवासी समुदायको यथार्थ र स्वदेश फर्किएपछि समाजका लागि केही गर्ने आकांक्षालाई समेटेकाले गैरआवासीय नेपाली समुदाय तथा आम पाठकमाझ विशेष चासोको विषय बन्ने अपेक्षा गरिएको छ।