हरित वित्त, जलवायु उत्थानशीलता र एमएसएमईको वित्तीय पहुँच विस्तार गर्न कुमारी बैंक र मिनर्जी इनिसिएटिभ्सबीच सहकार्य


काठमाडौं। कुमारी बैंक लिमिटेड (KBL) र मिनर्जी इनिसिएटिभ्स (MI) बीच नेपालमा हरित वित्त (Green Finance), जलवायु उत्थानशीलता (Climate Resilience) तथा लघु, साना तथा मझौला उद्यम (MSMEs) को वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यका साथ समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ।

सम्झौताअनुसार स्थानीय स्तरमा सञ्चालन हुने हरित परियोजनालाई व्यावसायिक बैंकिङ प्रणालीसँग जोड्दै दिगो विकास, जलवायुमैत्री लगानी तथा लैङ्गिक समानतालाई प्रवर्द्धन गर्ने साझा कार्ययोजना अघि बढाइनेछ।

यस सहकार्यमार्फत मिनर्जी इनिसिएटिभ्सले जलवायु परिवर्तन न्यूनीकरण, हरित परियोजना विकास तथा प्राविधिक क्षमता अभिवृद्धिमा आफ्नो विशेषज्ञता उपलब्ध गराउनेछ भने कुमारी बैंकले आफ्नो वित्तीय पूर्वाधार र देशव्यापी बैंकिङ सञ्जालमार्फत हरित लगानीलाई प्रवर्द्धन गर्ने जनाएको छ।

साझेदारीले लघु, साना तथा मझौला उद्यमी र स्थानीय समुदायले भोग्दै आएका ऋण पहुँचसम्बन्धी परम्परागत अवरोध हटाई जलवायुमैत्री व्यवसायमा लगानी विस्तार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

समझदारीपत्रमा कुमारी बैंकका प्रमुख लगानी तथा बजार व्यवस्थापन अधिकृत चन्दन कार्की तथा मिनर्जी इनिसिएटिभ्सका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

यस सहकार्यको मुख्य उद्देश्य “बैंक-रेडी कम्युनिटी र कम्युनिटी-रेडी बैंक” को अवधारणालाई व्यवहारमा उतार्दै समुदाय र बैंकिङ प्रणालीबीचको दूरी घटाउनु रहेको जनाइएको छ।

कुमारी बैंकका दिगो बैंकिङ विभाग प्रमुख अर्पण पौडेलले अन्तर्राष्ट्रिय जलवायु वित्त र स्थानीय उद्यमीबीचको दूरी कम गर्न समुदायको आवश्यकता तथा बैंकिङ जोखिम व्यवस्थापन दुवैलाई बुझ्ने प्रणाली आवश्यक रहेको बताए। उनका अनुसार यस सहकार्यले क्षमता विकासलाई व्यवहारिक वित्तीय समावेशीकरणमा रूपान्तरण गर्नेछ।

कुमारी बैंकले आफ्नो देशव्यापी सञ्जालमार्फत हरित वित्तीय कार्यक्रम विस्तार गर्दै नेपाललाई स्वच्छ, दिगो तथा जलवायु उत्थानशील अर्थतन्त्रतर्फ अघि बढाउन सहयोग गर्ने जनाएको छ।

यस साझेदारीसँगै कुमारी बैंकले दिगोपनलाई आफ्ना बैंकिङ सेवा, प्रक्रिया र रणनीतिक सहकार्यको केन्द्रमा राख्दै नेपालमा हरित वित्त प्रवर्द्धन गर्ने प्रतिबद्धतालाई थप सुदृढ बनाएको जनाएको छ।