नेपालको सोलुखुम्बुमा गुम्बा भवनको शिलान्यास समारोह


नेपालको कोशी प्रदेश अन्तर्गत सोलुखुम्बु जिल्लाको लिखु पिके गाउँपालिकामा ङ्ग्युर ञिङ्मापाल्युल दोङाग छोइलिङ गुम्बाको निर्माणका लागि आज लिखु पिके गाउँपालिकाकी अध्यक्ष श्रीमती मीना कार्की बस्नेत र काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव श्री अजयकुमार सिंहले संयुक्त रूपमा शिलान्यास गर्नुभयो।

भारत सरकारको आर्थिक सहयोग करिब रु. ३.३ करोड लागतमा यस गुम्बा भवनको निर्माण हुँदैछ। यो उच्च प्रभाव सामुदायिक विकास परियोजना सोलुखुम्बुको लिखु पिके गाउँपालिकामार्फत कार्यान्वयन गरिनेछ र यो नेपालको सोलुखुम्बु जिल्लाको छैटौँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो।

सोलुखुम्बुको लिखु पिके गाउँपालिकाकी अध्यक्ष तथा अन्य सरोकारवालाहरूले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गर्नुभयो र उहाँहरूले नयाँ पूर्वाधारले सोलुखुम्बुको लिखु पिके गाउँपालिकाको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण गर्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

नजिकको छिमेकी भएकाले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ। उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्रहरूमा पूर्वाधार विकास गर्नुका साथै विकास र समृद्धिलाई अगाडि बढाउने नेपाल सरकारको प्रयासलाई सुदृढ पार्न भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ।