ललितपुर। पूँजी बजार सुधारको माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) घेराउ गर्न पुगेका सेयर लगानीकर्ताहरूले तत्कालका लागि आन्दोलन स्थगित गरेका छन्। बोर्ड नेतृत्वले लगानीकर्ताका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि पूर्वघोषित तालाबन्दी कार्यक्रम स्थगित गरिएको हो।
मंगलबार बोर्ड कार्यालयमा पूँजी बजार अभियन्ता तथा लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा पुगेको टोली र सेबोनका अध्यक्षबीच भएको छलफलमा बजार सुधारका विषयमा विस्तृत कुराकानी भएको थियो। छलफलका क्रममा अध्यक्षले लगानीकर्ताले उठाएका विषयप्रति बोर्ड गम्भीर रहेको र आज बेलुकासम्म पूँजी बजार सुधारसम्बन्धी स्पष्ट कार्ययोजना सार्वजनिक गरिने आश्वासन दिएका थिए।
सोही प्रतिबद्धतापछि लगानीकर्ताहरूले तत्काल तालाबन्दी नगर्ने निर्णय गर्दै शान्तिपूर्ण रूपमा बोर्ड परिसरबाट फर्किएका हुन्।
यद्यपि, आन्दोलन पूर्ण रूपमा अन्त्य नभएको लगानीकर्ता पक्षले स्पष्ट पारेको छ। अभियन्ता तिलक कोइरालाले बोर्डले सार्वजनिक गर्ने कार्ययोजना व्यवहारिक, समयसीमासहितको र लगानीकर्तामैत्री हुनुपर्ने बताए। यदि कार्ययोजना केवल आश्वासनमा सीमित भए वा सुधारको स्पष्ट खाका प्रस्तुत नभए बुधबारदेखि थप कडा आन्दोलनका कार्यक्रम घोषणा गरिने उनले चेतावनी दिए।
पछिल्लो समय सेयर बजारमा देखिएको निरन्तर उतारचढाव, लगानीकर्ताको घट्दो मनोबल तथा नीतिगत अन्योलका कारण पूँजी बजार सुधारको माग चर्किंदै गएको छ। लगानीकर्ताहरूले नियामकीय सुधार, बजारमैत्री नीति, नयाँ वित्तीय उपकरणको विस्तार, आईपीओ तथा धितोपत्र स्वीकृति प्रक्रियामा पारदर्शिता र लगानीकर्ताको विश्वास बढाउने ठोस कदम चाल्न सेबोनसँग माग गर्दै आएका छन्।
सेबोनले सार्वजनिक गर्ने भनिएको कार्ययोजनाले लगानीकर्ताको विश्वास पुनः स्थापित गर्न सक्छ वा आन्दोलनलाई थप चर्काउन सक्छ भन्नेमा अहिले पूँजी बजारको ध्यान केन्द्रित भएको छ। बजारका सरोकारवालाले पनि नियामक निकायले अब आश्वासनभन्दा परिणाममुखी निर्णय लिनुपर्ने धारणा व्यक्त गरिरहेका छन्।