देशभर मनसुन सक्रिय, अधिकांश क्षेत्रमा वर्षा; पहाडी जिल्लामा भारी वर्षाको जोखिम


काठमाडौं। देशभर मनसुनी प्रणाली सक्रिय रहँदा सोमबार अधिकांश क्षेत्रमा वर्षाको क्रम जारी रहने भएको छ। जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यूनचापीय रेखा नेपालका तराई भू–भाग नजिक उत्तरतर्फ रहेकाले देशका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने र केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

हाल कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आकाश अधिकांश समय बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि सामान्यदेखि आंशिक बदली रहने पूर्वानुमान छ। कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा, साथै लुम्बिनीका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

रातिको समयमा पनि मौसम पूर्ण रूपमा खुल्ने सम्भावना नरहेको विभागले जनाएको छ। मधेससहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा जारी रहने सम्भावना छ। विशेषगरी कोशीको तराई र गण्डकी प्रदेशका पहाडी जिल्लामा रातिको समयमा समेत भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

मौसमविद्हरूका अनुसार लगातारको वर्षासँगै नदी तथा खोलानालामा पानीको बहाव बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरो, भूक्षय र गेग्रान बहावको जोखिम उच्च रहने भएकाले उच्च सतर्कता अपनाउन आवश्यक छ।

विभागले वर्षाका कारण कृषि, सडक तथा हवाई यातायात, पर्यटन र दैनिक जनजीवन प्रभावित हुन सक्ने जनाएको छ। विशेषगरी पहाडी तथा हिमाली जिल्लामा यात्रा गर्ने, नदी किनार तथा जोखिमयुक्त बस्तीमा बसोबास गर्ने नागरिकलाई आवश्यक सावधानी अपनाउन र विभागले जारी गर्ने पछिल्ला मौसम बुलेटिन नियमित रूपमा पालना गर्न अनुरोध गरिएको छ।