टोखा–९ बाट घर नम्बर प्लेट जडानको शुभारम्भ


काठमाडौं। टोखा नगरपालिकाले आज वडा नं. ९ मा एक औपचारिक समारोह गरेर एकीकृत घर ठेगाना प्रणाली अन्तर्गतको घर नम्बर प्लेट जडान कार्य शुभारम्भ गरेको छ । कार्यक्रममा टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी, प्रमुख प्रशासकिय अधिकृत कमल भट्टराई र वडाअध्यक्ष रामभक्त घिमिरेले वडा कार्यालयमा नम्बर प्लेट संयुक्त रूपमा जडान गरेका थिए । आजैदेखि टोखा ९ का टोल–टोलमा घर नम्बर प्लेट जडान कार्य सुरु भएको छ ।

नम्बर प्लेट जडान शुभारम्भ कार्यक्रममा बोल्दै नगर प्रमुख प्रकाश अधिकारीले टोखामा पहिलो चरणमा १९ हजार घरधुरीमा डिजिटल मेट्रिक प्रणालीको घर नम्बर प्लेट जडान कार्य सुरु भएको बताए । दोस्रो चरणमा सबै घरधुरीमा एकीकृत घर ठेगाना प्रणाली घर नम्बर प्लेटमा भएको क्युआर कोडबाट नागरिकहरुले विविध सेवाहरु घरमै बसेर लिन सकिन्छ ।

जसमा दमकल, जेट मेसिन, एम्वुलेन्स सेवा होस् या नागरिकको घर पत्ता लगाउनुका साथै पोलिसि निर्माण गर्न समेत मद्दत पु¥याउने नगरपालिकाले लक्ष्य लिएको छ । करको पालना भए, नभएको सूचना समेत लिन सकिनेछ । आइमास्क प्रणाली भनेको सम्बन्धित सडकको सुरु विन्दुबाट घर दुरीको आधारमा घर–ठेगाना पत्ता लगाउन सकिन्छ । घर नम्बर प्लेटमा नम्वर मात्र नभएर त्यहाँ भएको क्युआर कोड भने साउन १ गतेबाट मात्र सञ्चालनमा आउने नगरपालिकाले जानकारी दिएको छ ।

यो सेवा नगरपालिकाले ३ वर्ष लगाएर ल्याउन सफल भएको सिस्टम हो। काठमाडौं महानगरपछि टोखा नगरपालिकाले यो प्रणाली सुरु गरेको छ। टोखाभित्रका सबै घरको सर्वेक्षण र सडकहरुको नामाकरण गरेर डिजिटाइलेसन गर्नुका साथै आगामी दिनमा विपद, नक्सापास र राजस्व सेवा समेत यसै प्रणालीबाट गराउने तयारीमा नगरपालिकाले जोड दिएको आइटी शाखा प्रमुख बसन्त पाठकले जानकारी दिएका छन्। यो प्रणालीबाट नगरपालिकाको एकीकृत जियोडाटाबेस तयार भएको छ।

टोखा नगरपालिकाभित्र नक्साङ्कन गरिएका घरको संख्या २८६४६ रहेको छ भने प्रणालीद्धारा जारी घर ठेगाना २६,६१६ रहेको छ। नक्साङ्कन गरिएका सडकको कुल लम्बाई २९५.८८ किलोमिटर रहेको छ।