काठमाडौं। सरकारले पशुपति क्षेत्र विकास कोषको सञ्चालक समितिमा एक कोषाध्यक्षसहित ६ जना सदस्य नियुक्त गरेको छ।
नवनियुक्त पदाधिकारीहरूमा मिनाकुमारी श्रेष्ठ कोषाध्यक्ष तथा गंगासागर बानियाँ, रूप शाही बास्तोला, सङ्गीताकुमारी राम, केदारमान भण्डारी र राम सोवित नायक परिषद् सदस्यमा नियुक्त भएका छन्।
नवनियुक्त पदाधिकारीहरूले पशुपति क्षेत्रको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण, व्यवस्थापन र विकासका कार्यमा भूमिका निर्वाह गर्नेछन्। उनीहरू कोषको नीति निर्माण, व्यवस्थापन सुधार, तीर्थयात्री तथा भक्तजनलाई गुणस्तरीय सेवा उपलब्ध गराउने तथा पशुपति क्षेत्रको समग्र विकासका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने जिम्मेवारीमा रहनेछन्।
पशुपति क्षेत्र विकास कोषले विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर परिसरको संरक्षण, सञ्चालन तथा व्यवस्थापन गर्दै आएको छ। नयाँ नियुक्तिसँगै कोषको नेतृत्वले सम्पदा संरक्षण, पूर्वाधार विकास, सुशासन र धार्मिक पर्यटन प्रवर्द्धनमा थप प्रभावकारी ढंगले काम गर्ने अपेक्षा गरिएको छ।