काठमाडौं। बुढानीलकण्ठ नगरपालिकाले आगामी आर्थिक वर्षका लागि तिनअर्ब ४५ करोड रुपैयाँको महत्त्वाकांक्षी बजेट सार्वजनिक गर्दै स्वास्थ्य, शिक्षा, पूर्वाधार, रोजगारी, वातावरण संरक्षण र सुशासनलाई केन्द्रमा राखेर विकासको नयाँ मार्गचित्र प्रस्तुत गरेको छ।
नगरसभाको १८औँ अधिवेशनको गरिमामय तेस्रो बैठकमा बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक तथा राजस्व परामर्श समितिका संयोजकद्वारा विनियोजन विधेयक र आर्थिक विधेयकसहित बजेट वक्तव्य प्रस्तुत गरिएको हो।
नगरपालिकाले गुणस्तरीय र सहज स्वास्थ्य सेवा, परिणाममुखी शिक्षा प्रणाली, आधुनिक तथा दिगो भौतिक पूर्वाधार निर्माण, सूचना प्रविधिमैत्री सेवा प्रवाह, वन तथा वातावरण संरक्षण, फोहोरमैला व्यवस्थापन र विपद् न्यूनीकरणलाई आगामी वर्षका प्रमुख कार्यसूचीमा राखेको छ।
बजेटको संरचनाअनुसार स्वास्थ्य र शिक्षालाई उच्च प्राथमिकता दिँदै सामाजिक विकास क्षेत्रमा २६ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ। यसले नगरवासीलाई गुणस्तरीय सामाजिक सेवाको पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ।
त्यसैगरी, उद्योग, पर्यटन, श्रम तथा रोजगारीका अवसर सिर्जना गर्दै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्यका साथ आर्थिक विकासतर्फ ७ करोड ७७ लाख रुपैयाँ छुट्याइएको छ।
नगरको दीर्घकालीन समृद्धिको आधार मानिएको भौतिक पूर्वाधार क्षेत्रमा सबैभन्दा ठूलो हिस्सा विनियोजन गरिएको छ। बसपार्क निर्माण, खानेपानी बोर्ड व्यवस्थापन, उज्यालो तथा सुरक्षित नगर अभियान, नगर गौरवका आयोजना तथा क्रमागत योजनाहरूलाई गति दिन १ अर्ब ६३ करोड ४५ लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ।
यस्तै, प्रभावकारी सेवा प्रवाह, प्रशासनिक सुधार र संस्थागत क्षमता अभिवृद्धिका लागि ६१ करोड २२ लाख रुपैयाँ विनियोजन गरिएको छ। वडा स्तरीय विकास कार्यक्रम, न्यायिक समिति, राजस्व व्यवस्थापन तथा स्थानीय आवश्यकतामा आधारित योजनाका लागि ३९ करोड ८५ लाख रुपैयाँ छुट्याइएको छ।
बजेटले कृषि तथा पशुपन्छी क्षेत्रको व्यवसायीकरण, युवा तथा खेलकुद विकास, सार्वजनिक जग्गा संरक्षण, भाषा, संस्कृति, कला तथा साहित्यको संरक्षण–प्रवर्द्धन, महिला तथा सिमान्तकृत समुदायको मूलप्रवाहीकरणलाई समेत विशेष प्राथमिकतामा राखेको छ।
नगरसभाको बैठक असार ११ गते बिहान ११ बजे पुनः बस्ने गरी स्थगित गरिएको छ।
“बुढानीलकण्ठ नगरपालिकाको यो बजेट केवल खर्चको विवरण मात्र नभई समृद्ध, सुरक्षित, प्रविधिमैत्री र आत्मनिर्भर नगर निर्माणको दीर्घकालीन संकल्पका रूपमा हेरिएको छ।