साताको अन्तिम कारोबार दिन नेप्सेमा सामान्य सुधार, न्यून अंकको वृद्धि
Economic Khabar
५ असार २०८३, शुक्रबार १८:३१
काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढ्दै हरियालीमा बन्द भएको छ। बजारमा सीमित सुधार देखिए पनि लगानीकर्ताको उत्साह भने मध्यम रह्यो। अघिल्लो कारोबार दिन ५.०६ अंकले घटेको बजार आज १.६३ अंक (०.०६ प्रतिशत) ले सुधार हुँदै २ हजार ७०२.११ बिन्दुमा बन्द भएको हो।
आज नेप्से २ हजार ७११.४७ बिन्दुबाट कारोबार सुरु भएको थियो। कारोबार अवधिभर परिसूचक २ हजार ७१२.४५ बिन्दुसम्म पुगेको थियो भने न्यूनतम २ हजार ६९१.८६ बिन्दुसम्म झरेको थियो।
दिनभर ३५३ कम्पनीका १ करोड ९२ लाख २५ हजार ५२५ कित्ता शेयर ६१ हजार १७० पटक खरिद–बिक्री हुँदा कुल कारोबार रकम ४ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ। बजारको कुल पूँजीकरण ४६ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ भने फ्लोट बजार पूँजीकरण १५ खर्ब ५१ अर्ब रुपैयाँ कायम भएको छ।
कारोबार रकमका आधारमा ग्लोबल आईएमई बैंक लिमिटेड डिबेन्चर २०८६/८७ अग्रस्थानमा रह्यो। उक्त डिबेन्चरको ३१ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने अन्तिम मूल्य प्रतिकित्ता १ हजार १४१ रुपैयाँ ८० पैसा कायम भएको छ।
त्यसैगरी, आजको कारोबारमा अपोलो हाइड्रोपावर लिमिटेड सर्वाधिक कमाउने कम्पनी बन्यो। कम्पनीको शेयर मूल्य १४.९९ प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेर प्रतिकित्ता ९१६ रुपैयाँमा कारोबार बन्द भएको छ।