डेढ महिनापछि नेप्सेले पायो नेतृत्व, अमृत लम्साल अध्यक्ष नियुक्त
Economic Khabar
३ असार २०८३, बुधबार ०८:१४
काठमाडौं। करिब डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। पूर्व अध्यक्षको वैशाख १५ गतेको राजीनामापछि रिक्त रहेको पदमा अर्थमन्त्री स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको अध्यक्षको जिम्मेवारी दिएका छन्।
नेपालको एकमात्र धितोपत्र कारोबार संस्था नेप्से लामो समयदेखि नेतृत्वविहीन हुँदा संस्थागत निर्णय प्रक्रिया र बजार व्यवस्थापनमा अन्योलको अवस्था देखिएको थियो। नयाँ अध्यक्ष नियुक्तिसँगै नेप्सेको प्रशासनिक नेतृत्व, नीतिगत समन्वय तथा पूँजी बजार सुधारका कामले नयाँ गति लिने अपेक्षा गरिएको छ।
नवनियुक्त अध्यक्ष लम्साल हाल अर्थ मन्त्रालयमा महाशाखा प्रमुखको जिम्मेवारीमा कार्यरत छन्। उनी नेपाल पुनर्बीमा कम्पनी र नेपाल बैंक लिमिटेडलगायतका महत्वपूर्ण वित्तीय संस्थामा समेत जिम्मेवारी सम्हालिसकेका अनुभवी प्रशासक हुन्।
उनको नियुक्तिले धितोपत्र बजारको संस्थागत सुशासन मजबुत बनाउने, नियामक निकायसँगको समन्वय प्रभावकारी बनाउने तथा पूँजी बजारको विकास र विस्तारमा सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ।
नयाँ नेतृत्वसँगै लगानीकर्ताहरूले नेप्सेमा प्रविधिगत सुधार, बजार विस्तार, पारदर्शिता वृद्धि तथा दीर्घकालीन पूँजी बजार सुधारका कार्यक्रमले गति पाउने अपेक्षा गरेका छन्।