कृषि विकास बैंकको अध्यक्षमा टंकप्रसाद पाण्डेय नियुक्त


काठमाडौं। कृषि विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा टंकप्रसाद पाण्डेय नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिको २०८३ जेठ २५ गते बसेको बैठकले पाण्डेयलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

नवनियुक्त अध्यक्ष पाण्डेयले निजामती सेवामा करिब २५ वर्ष लामो अनुभव हासिल गरेका छन्। उनले आर्थिक प्रशासन, सार्वजनिक नीति तथा विभिन्न सरकारी निकायमा रहेर महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेको अनुभव बटुलेका छन्। आर्थिक तथा वित्तीय क्षेत्रसँग उनको लामो संलग्नता रहेको बताइएको छ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनअनुसार नवनियुक्त अध्यक्षले नेपाल राष्ट्र बैंकका गभर्नरसमक्ष सपथ ग्रहण गर्नुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय, बालुवाटारमा आयोजित कार्यक्रममा गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले अध्यक्ष पाण्डेयलाई सपथ ग्रहण गराएका हुन्।

सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित, कार्यकारी निर्देशकहरू रामु पौडेल, गुरुप्रसाद पौडेल, दीर्घबहादुर रावल तथा मुक्तिनाथ सापकोटा लगायतका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।

त्यसैगरी नेपाल राष्ट्र बैंकका निर्देशक मीरा ताछाभडेल, बोर्ड सचिव शरणकुमार अधिकारी, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, कम्पनी सचिव तथा प्रवक्ता हिमलाल पौडेललगायतको सहभागिता रहेको थियो।

कृषि विकास बैंक नेपालको कृषि तथा ग्रामीण अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको प्रमुख वित्तीय संस्थामध्ये एक हो। नयाँ नेतृत्वको आगमनसँगै बैंकको संस्थागत सुधार, कृषि वित्त विस्तार तथा ग्रामीण क्षेत्रको वित्तीय पहुँच अभिवृद्धिमा थप गति आउने अपेक्षा गरिएको छ।