विश्व वातावरण दिवसमा ‘हिमालय एन्ड इन्भाइरोन्मेन्ट कन्क्लेभ–२०२६’ सम्पन्न


“हिमाली क्षेत्र संरक्षणमा साझा प्रतिबद्धता, जलवायु संकट र हिमालयको भविष्यबारे विज्ञहरूको चिन्ता”

काठमाडौँ, विश्व वातावरण दिवस २०२६ को अवसरमा ‘हिमालय एन्ड इन्भाइरोन्मेन्ट कन्क्लेभ–२०२६’ कार्यक्रम शुक्रबार काठमाडौँस्थित होटल हिमालयमा सम्पन्न भएको छ। जलवायु परिवर्तन, ऊर्जा र पर्यटनका विषयमा केन्द्रित उक्त सम्मेलनमा हिमालय क्षेत्र संरक्षण, हरित विकास तथा जलवायु चुनौतीका विषयमा व्यापक छलफल गरिएको थियो।

कार्यक्रम युनाइटेड नेसन्स डेभलपमेन्ट प्रोग्राम (UNDP) नेपाल को सहकार्यमा आयोजना गरिएको हो। सम्मेलनमा वातावरणविद्, नीति निर्माता, ऊर्जा तथा पर्यटन क्षेत्रका विज्ञ, अनुसन्धानकर्ता र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको अध्यक्षता परियोजनाका प्रमुख प्रजिता कार्की ले गर्नुभएको थियो। अध्यक्षीय मन्तव्यका क्रममा उहाँले जलवायु परिवर्तनका असर हिमालय क्षेत्रमा तीव्र रूपमा देखिन थालेको उल्लेख गर्दै हिमाल संरक्षणका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा साझा प्रयास आवश्यक रहेको बताउनुभयो।

सम्मेलनमा हिमाली क्षेत्रको पारिस्थितिक प्रणाली, जलस्रोत संरक्षण, स्वच्छ ऊर्जा प्रवर्द्धन तथा दिगो पर्यटन विकासका विषयमा विभिन्न कार्यपत्र प्रस्तुत गरिएको थियो। वक्ताहरूले हिमनदी पग्लिने क्रम तीव्र बन्दै जानु, अनियमित मौसम, प्राकृतिक विपद्का जोखिम तथा जैविक विविधतामाथि परेको असरबारे चिन्ता व्यक्त गरेका थिए।

कार्यक्रममा सहभागीहरूले हिमालय केवल नेपालको मात्र सम्पत्ति नभई विश्वकै साझा प्राकृतिक धरोहर भएकाले यसको संरक्षणका लागि दीर्घकालीन नीति, पर्याप्त लगानी र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको धारणा राखेका थिए।

विश्व वातावरण दिवसको सन्देश ‘प्रकृतिबाट प्रेरित, जलवायुसँग प्रतिबद्ध र भविष्यप्रति उत्तरदायी’ भन्ने भावनालाई आत्मसात् गर्दै आयोजित सम्मेलनले जलवायु परिवर्तनका चुनौती सामना गर्न बहुपक्षीय सहकार्यको आवश्यकता औँल्याएको आयोजकले जनाएको छ।

कार्यक्रमको निष्कर्षले वातावरण संरक्षण, जलवायु अनुकूलन, हरित ऊर्जा तथा दिगो पर्यटन प्रवर्द्धनका क्षेत्रमा थप प्रभावकारी नीति निर्माण र कार्यान्वयनका लागि मार्गनिर्देशन गर्ने अपेक्षा गरिएको छ।