हिमाल पग्लिँदै, विपद् बढ्दैः जलवायु संकटबारे राष्ट्रपतिको गम्भीर चेतावनी विकासको दौडमा वातावरण नबिर्सन


काठमाडौँ। विश्व वातावरण दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका बढ्दो असरप्रति गम्भीर चिन्ता व्यक्त गर्दै वातावरण संरक्षणलाई विकासको मूल आधारका रूपमा स्थापित गर्नुपर्ने बताएका छन्।

शुक्रबार जारी शुभकामना सन्देशमा उनले जलवायु परिवर्तन अब भविष्यको सम्भावित जोखिम मात्र नभई वर्तमानको वास्तविक चुनौती बनिसकेको उल्लेख गरेका छन्। नेपालमा हिमाल पग्लिने क्रम तीव्र हुनु, अनियमित वर्षा, बाढी, पहिरो तथा वातावरणीय असन्तुलनका घटना बढ्दै जानुले यसको प्रत्यक्ष प्रभाव देखिएको उनको भनाइ छ।

राष्ट्रपति पौडेलले आर्थिक विकास र वातावरण संरक्षणलाई एकअर्काका प्रतिस्पर्धी होइन, परिपूरक पक्षका रूपमा बुझ्नुपर्ने आवश्यकता औँल्याएका छन्। स्वच्छ ऊर्जाको प्रयोग, वृक्षरोपण, प्राकृतिक स्रोतको दिगो उपयोग तथा जलवायु अनुकूलन क्षमता अभिवृद्धि गर्न सके मात्र भावी पुस्ताका लागि सुरक्षित र हरित भविष्य सुनिश्चित गर्न सकिने उनले बताएका छन्।

उनले वातावरणीय चुनौती सामना गर्न सरकार, निजी क्षेत्र, नागरिक समाज र सर्वसाधारणबीच साझा प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्दै प्रकृतिमैत्री जीवनशैलीलाई व्यवहारमा उतार्न आग्रह गरेका छन्।

राष्ट्रपतिका अनुसार स्वच्छ हावा, शुद्ध पानी, वनजंगल र जैविक विविधताको संरक्षण केवल वातावरणीय मुद्दा नभई मानव अस्तित्व र समृद्धिसँग प्रत्यक्ष जोडिएको विषय हो। त्यसैले विकासका हरेक योजना र नीतिमा वातावरणीय सन्तुलनलाई केन्द्रमा राख्नुपर्ने आवश्यकता झन् बढ्दै गएको उनले बताएका छन्।

यस वर्ष विश्व वातावरण दिवस ‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित मनाइँदै छ। राष्ट्रपति पौडेलको सन्देशले जलवायु संकटका बीच विकासको मोडल पुनर्विचार गर्नुपर्ने बहसलाई थप बल दिएको छ।