काठमाडौं । अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा विश्वप्रसिद्ध आउटडोर ब्रान्ड The North Face ले काठमाडौंस्थित गोकर्ण फरेस्ट रिसोर्टमा ‘The North Face Mountain Quest’ कार्यक्रम सम्पन्न गरेको छ। साहसिक खेलकुद, पर्वतीय संस्कृति र वातावरण संरक्षणलाई केन्द्रमा राखेर आयोजित कार्यक्रममा ठूलो संख्यामा आउटडोर गतिविधिप्रेमी, धावक, पर्वतारोही तथा विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा आयोजित ७.५ किलोमिटर नाइट ट्रेल रन सफलतापूर्वक सम्पन्न भएको छ। प्राकृतिक वातावरणबीच रातिको समयमा सञ्चालन गरिएको उक्त दौडमा सहभागीहरूले रोमाञ्चक अनुभव प्राप्त गरेका थिए। आयोजकका अनुसार नाइट ट्रेल रनले साहसिक खेलकुद तथा स्वस्थ जीवनशैलीप्रति आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेलेको छ।
कार्यक्रमअन्तर्गत आयोजित प्यानल छलफल मा पर्वतारोहण, हिमाली पर्यटन, वातावरण संरक्षण तथा सगरमाथा क्षेत्रका चुनौती र सम्भावनाबारे विज्ञ, पर्वतारोही तथा सरोकारवालाबीच गहन विचार आदानप्रदान भएको थियो। वक्ताहरूले सगरमाथा र हिमाली क्षेत्रको संरक्षणका लागि दिगो पर्यटन र सामूहिक जिम्मेवारी आवश्यक रहेकोमा जोड दिएका थिए।
त्यसैगरी, सांस्कृतिक नृत्य प्रस्तुतिहरू मार्फत नेपालको हिमाली तथा स्थानीय समुदायको कला, संस्कृति र परम्परालाई उजागर गरिएको थियो। कार्यक्रममा सहभागीहरूले नेपाली सांस्कृतिक विविधताको झल्को पाएका थिए।
साँझको कार्यक्रमलाई थप उत्साहपूर्ण बनाउन आयोजित लाइभ ब्यान्ड प्रस्तुति ले दर्शक तथा सहभागीहरूको विशेष आकर्षण बटुलेको थियो। संगीत र मनोरञ्जनले कार्यक्रमलाई थप जीवन्त बनाएको सहभागीहरूले बताएका छन्।
यस अवसरमा सगरमाथा सरसफाइ अभियानका लागि सहयोग संकलन कार्यक्रम समेत सञ्चालन गरिएको थियो। सगरमाथा क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न र पर्वतीय वातावरण संरक्षणमा योगदान पुर्याउने उद्देश्यले सहयोग संकलन गरिएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार The North Face Mountain Quest केवल मनोरञ्जनात्मक कार्यक्रम नभई सगरमाथाको महत्व, हिमाली वातावरण संरक्षण तथा साहसिक पर्यटन प्रवर्द्धनबारे जनचेतना फैलाउने उद्देश्यका साथ आयोजना गरिएको विशेष अभियान हो। कार्यक्रमले अन्तर्राष्ट्रिय सगरमाथा दिवसलाई साहसिकता, संस्कृति र संरक्षणको सन्देशसँग जोड्दै विशेष रूपमा मनाएको आयोजकको भनाइ छ।