कृषि, वन तथा पर्यावरण मन्त्री माननीय गीता चौधरीसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत महामहिम पार्क ते–योङ्ग तथा कोरिया प्रोग्राम अन इन्टरनेशनल एग्रिकल्चर (KOPIA) प्रतिनिधिमण्डलले मन्त्रालयमा शिष्टाचार भेटघाट तथा द्विपक्षीय सहकार्य सम्बन्धी छलफल गर्नुभएको छ।
भेटका क्रममा नेपाल काठमाडौं –कोरिया बीच कृषि, पशुपन्छी, वन तथा वातावरण क्षेत्रको सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको थियो।
राजदूत पार्क ते–योङ्गले नेपाल र कोरियाबीच विगतदेखि कृषि तथा वातावरण क्षेत्रमा विभिन्न कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन हुँदै आएको उल्लेख गर्दै KOICA मार्फत कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको बताउनुभयो। उहाँले तराई क्षेत्रमा सञ्चालन हुने Climate Resilient Rice Production Project को ROD मा हस्ताक्षर प्रक्रियामा रहेको तथा तरकारी मूल्य शृङ्खला विकाससम्बन्धी MoU पनि अगाडि बढाइएको जानकारी दिनुभयो।
उहाँले कोरियाको सहयोगमा नेपालमा वितरण गरिएका १०८ वटा उन्नत जातका हिफरबाट उत्साहजनक परिणाम प्राप्त भएको, महिला कृषकहरूले व्यावसायिक उत्पादन सुरु गरिसकेको तथा तेस्रो पुस्तासम्म बाछाबाछी उत्पादन भइसकेको जानकारी दिनुभयो। स्थानीय जातको तुलनामा दूध उत्पादन लगभग दोब्बर भएको उल्लेख गर्दै सिन्धुली क्षेत्रमा पशुपन्छी क्लस्टर हब विकास गर्ने योजना रहेको बताउनुभयो।

राजदूत पार्कले नेपाल कृषि अनुसन्धान परिषद् (NARC) सँगको सहकार्यमा गत वर्ष स्थापना गरिएको KOPIA Center ले प्रारम्भिक चरणमा तरकारी तथा आलु अनुसन्धानमा काम गरिरहेको जानकारी दिनुभयो। साथै, कोरियामा कार्यरत नेपाली श्रमिकहरूको योगदानको प्रशंसा गर्दै कृषि क्षेत्रमा कार्यरत धेरै नेपाली युवाले सिकेको सीप र प्रविधि नेपाल फर्किएपछि उद्यमशीलतामा प्रयोग गरिरहेको उल्लेख गर्नुभयो।
उहाँले वातावरण तथा ऊर्जा क्षेत्रको सहकार्यबारे पनि चर्चा गर्दै रसुवामा निर्माणाधीन त्रिशूली जलविद्युत आयोजना महत्वपूर्ण सहकार्य क्षेत्र रहेको बताउनुभयो। वातावरणसम्बन्धी सहकार्यलाई थप विस्तार गर्न आगामी दिनमा संयुक्त सेमिनार आयोजना गर्ने इच्छा व्यक्त गर्नुभयो।
KOPIA का कन्ट्री डाइरेक्टरले सन् २००९ देखि KOPIA ले विभिन्न देशहरूमा कृषि कार्यक्रम विस्तार गर्दै आएको उल्लेख गर्दै नेपालमा MoU भएपछि कार्यान्वयन चरणमा सक्रिय रूपमा काम भइरहेको जानकारी दिनुभयो। उहाँले अनुसन्धानकर्ताहरूका लागि छोटो अवधिको भिसा ठूलो चुनौती बनेको भन्दै समस्या समाधानका लागि मन्त्रालयको सहकार्य अपेक्षा गर्नुभयो।
भेटका क्रममा मन्त्री चौधरीले नेपाल सरकारका तर्फबाट कोरिया सरकारले नेपाललाई उपलब्ध गराएको उन्नत पशु नस्लप्रति आभार व्यक्त गर्नुभयो। उहाँले वर्तमान सरकारले दुग्ध क्षेत्र विकास तथा दुग्ध विकास संस्थान (DDC) सुदृढीकरणलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्दै कोरियाको आधुनिक दुग्ध प्रविधि नेपालमा विस्तार गर्न चाहेको बताउनुभयो।

मन्त्री चौधरीले कृषि, पशुपन्छी तथा वन क्षेत्रमा हस्ताक्षर भएका समझदारीपत्रहरू मार्फत प्राप्त सहयोगको प्रशंसा गर्दै KOPIA सम्बन्धी भिसा तथा सञ्चालन समस्याहरू समाधान गर्न सम्बन्धित मन्त्रालयहरूसँग समन्वय भइरहेको जानकारी दिनुभयो। साथै Enhancing Dairy Development Project को सम्भाव्यता अध्ययन सम्पन्न भइसकेकाले निकट भविष्यमा परियोजना सम्झौता हुने अपेक्षा व्यक्त गर्नुभयो।
उहाँले नेपाल सरकारले डिजिटलाइजेशन, नवप्रवर्तन, जलवायु–स्मार्ट कृषि तथा युवा स्टार्टअप कार्यक्रमलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै यी क्षेत्रमा कोरियाबाट थप लगानी, प्रविधि तथा प्राविधिक सहयोग अपेक्षा गरिएको बताउनुभयो। साथै, जैविक मल उत्पादन प्रविधि, “Learn and Earn Program” विस्तार तथा संयुक्त कृषि कार्यसमिति बैठक आयोजना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

मन्त्री चौधरीले नेपाल कृषि अनुसन्धान परिषद् (NARC) र कोरियाली अनुसन्धान संस्थाबीच उच्च घनत्वयुक्त स्याउ तथा अखरोटका जर्मप्लाज्म, कम लागतका स्मार्ट सिँचाइ प्रणाली तथा उच्च उत्पादन दिने धानका जातहरूको आदानप्रदानमा सहकार्य विस्तार गर्नुपर्ने आवश्यकता पनि व्यक्त गर्नुभयो।
भेटवार्तामा नेपाल–कोरिया बीचको दीर्घकालीन बहुपक्षीय तथा द्विपक्षीय सहकार्यलाई अझ प्रभावकारी र परिणाममुखी बनाउने विषयमा दुवै पक्ष सहमत भएका थिए।