काठमाडौँ। विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म inDrive World Economic Forum (WEF) को प्रतिष्ठित ‘युनिकर्न कम्युनिटी’मा औपचारिक रूपमा आबद्ध भएको छ। निमन्त्रणामार्फत मात्र सदस्यता दिइने यस समूहमा उच्च मूल्याङ्कन भएका, तीव्र गतिमा विस्तार भइरहेका र नवप्रवर्तनमार्फत विश्वव्यापी प्रभाव पार्ने कम्पनीहरूलाई समेटिन्छ।
कम्पनीका अनुसार उक्त समुदायमा आबद्धताले नवप्रवर्तन, समावेशी अर्थतन्त्र निर्माण तथा डिजिटल प्लेटफर्ममार्फत सामाजिक प्रभाव विस्तार गर्ने दिशामा सहकार्य र अवसरहरू बढाउनेछ। इन्ड्राइभले प्रयोगकर्तामैत्री सेवा, पारदर्शी मूल्य निर्धारण र ‘नेगोशिएसन मोडेल’मार्फत सेवाग्राहीलाई स्वतन्त्रता दिने अभ्यासलाई आफ्नो प्रमुख विशेषता बनाउँदै आएको जनाएको छ।
नेपालका विभिन्न शहरहरूमा सेवा विस्तार गर्दै आएको कम्पनीले प्रविधिको प्रयोगमार्फत सर्वसाधारणका लागि पहुँचयोग्य र समावेशी डिजिटल अर्थतन्त्र निर्माणमा योगदान पुर्याउँदै आएको दाबी गरेको छ। कम्पनीले सेवाग्राही र सेवा प्रदायकबीच प्रत्यक्ष मूल्य सहमतिको सुविधा प्रदान गर्ने मोडेलले डिजिटल बजारमा पारदर्शिता र विश्वास बढाएको उल्लेख गरेको छ।
इन्ड्राइभका अनुसार ‘युनिकर्न कम्युनिटी’मा सहभागिताले वित्तीय पहुँच, आर्थिक अवसर विस्तार र सामाजिक समावेशितालाई थप प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ। साथै, महिला उद्यमशीलता, शिक्षा, कला तथा समुदाय–केन्द्रित कार्यक्रममार्फत सामाजिक प्रभाव विस्तार गर्ने कार्यलाई पनि निरन्तरता दिइने जनाइएको छ।
यस उपलब्धिलाई कम्पनीले आफ्नो दीर्घकालीन रणनीति र नवप्रवर्तनमा आधारित व्यवसायिक मोडेलको अन्तर्राष्ट्रिय मान्यताका रूपमा लिएको छ।