काठमाडौं । सरकारले खाडीका विभिन्न मुलुकमा जाने नेपाली कामदारका लागि श्रम स्वीकृति पुनः खुला गरेको छ। वैदेशिक रोजगार विभाग ले सोमबार सूचना जारी गर्दै अन्तिम तथा पुनः श्रम स्वीकृति खुला गरिएको जनाएको हो।
सूचनाअनुसार साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार, ओमान, यमन, जोर्डन र टर्की मा कार्यरत वा जान तयारीमा रहेका नेपाली कामदारले अब अन्तिम र पुनः श्रम स्वीकृति लिन सक्नेछन्।
यस निर्णयसँगै लामो समयदेखि रोकिएका हजारौँ कामदारलाई राहत पुग्ने अपेक्षा गरिएको छ। विशेषगरी भिसा प्राप्त गरिसकेका र अन्तिम स्वीकृतिको प्रतीक्षामा रहेका कामदारका लागि यो कदम महत्वपूर्ण मानिएको छ।
विभागले आवश्यक कागजात पूरा गरी निर्धारित प्रक्रियाअनुसार स्वीकृति लिन आग्रह गरेको छ। साथै, श्रम स्वीकृतिसम्बन्धी प्रक्रिया छिटो र व्यवस्थित बनाउन आन्तरिक तयारीसमेत गरिएको जनाइएको छ।

यो निर्णयले वैदेशिक रोजगारीको प्रवाहलाई पुनः गति दिने र रेमिटेन्स आम्दानीमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।