सिएनआई–उर्जा मन्त्री छलफल,
काठमाडौं ।
नेपाल उद्योग परिसंघ र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठबीच छलफल भएको छ । परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको परिसंघ टोलीले सोमबार बधाई तथा शुभकामना दिदै उर्जा क्षेत्रको विकासका विषयमा छलफल गरेको हो ।
सो अवसरमा अध्यक्ष पाण्डेले विधुत खपत बढाउने नीति अवलम्बन गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले उद्योगलाई आवश्यक ऊर्जा उत्पादन गरी ह्विलिङ्ग चार्ज लगाई प्रसारण गर्न दिने नीति कार्यान्वयन गर्न, निजी क्षेत्रलाई विधुतको आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापारको अनुमति दिने नीति लिन सुझाउनुभयो । नेपाल सरकारबाट स्वीकृती लिई सर्भे सम्पन्न गरिसकेका र विधुत खरिद सम्झौता हुन बाँकी सबै परियोजनासँग तत्काल विधुत खरिद सम्झौता (पीपीए) गर्न, विधुतको आन्तरिक खपत बढाउने नीति लिन, जीवास्म इन्धन आधारित उद्योगलाई विधुतमा आधारित उपकरणले विस्थापित गर्न सहुलियत दिने व्यवस्था गर्न आग्रह गर्नुभयो । उहाँले वैकल्पिक उर्जा स्रोततर्फ पनि ध्यान दिइनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा मन्त्री श्रेष्ठले समग्र उर्जा क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले विधुतको निर्यातसँगै आन्तरिक खपत कसरी बढाउने भन्नेतर्फ पनि सरकारले गृहकार्य गरिरहेको बताउनुभयो । उहाँले सरकारले जलाशय तथा नविकरणीय उर्जा, विधुत खपत बढाउने रणनीतिलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले उर्जा क्षेत्रले कुल गार्हस्थ उत्पादन (जीडीपी) मा कसरी योगदान बढाउन सकिन्छ भन्ने विषयमा निजी क्षेत्रको स्पष्ट सुझाव अपेक्षा गरेको बताउनुभयो ।
छलफलमा उपाध्यक्ष गोकुल भण्डारी, पदाधिकारी सदस्य र माननिय विदुषी राणा, नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चका अध्यक्ष मनिष श्रेष्ठ, महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागी हुनुहुन्थ्यो ।