पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको मूल्यमा फेरि भारी वृद्धि


काठमाडौं। पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको मूल्यमा फेरि भारी वृद्धि भएको छ।

नेपाल आयल निगमले भारतबाट बढेर आएको मूल्यका आधारमा बिहीबार नयाँ मूल्य सार्वजनिक गरेको हो, जसले उपभोक्तामाथि थप आर्थिक भार परेको छ।

नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर सत्र रुपैयाँ र डिजेल/मट्टितेलमा पच्चीस रुपैयाँले वृद्धि गरिएको छ। अब पेट्रोलको नयाँ मूल्य विभिन्न स्थानमा २१६ रुपैयाँ ५० पैसा देखि २१९ रुपैयाँसम्म पुगेको छ भने डिजेल/मट्टितेलको नयाँ मूल्य २०४ रुपैयाँ ५० पैसा देखि २०७ रुपैयाँसम्म कायम गरिएको छ।

एलपीजि ग्याँसको नयाँ मूल्य दुई हजार १० रुपैयाँ

यसैगरी, १४.२ केजी एलपीजि ग्यासको मूल्य बढेर २ हजार १० रुपैयाँ पुगेको छ। हवाई इन्धन (आन्तरिक) पनि प्रतिलिटर ६ रुपैयाँले महँगिएको छ। नयाँ मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।

मूल्यवृद्धि गरे पनि नेपाल आयल निगम अझै ठूलो घाटामा रहेको बिज्ञप्ति मार्फत जनाएको छ। निगमका अनुसार हाल पनि पाक्षिक रूपमा करिब ७ अर्ब ८१ करोड रुपैयाँ घाटा भइरहेको छ।

अझ घाटा बढ्दै गए इन्धन आपूर्तिमा असर पर्न सक्ने चेतावनी दिँदै निगमले उपभोक्तालाई मितव्ययी रूपमा पेट्रोलियम पदार्थ प्रयोग गर्न आग्रह गरेको छ।

मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित भएको छ, जसको असर नेपालमा पनि देखिएको छ। इन्धन अभावका कारण सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णयसमेत लागू गरिसकेको छ।

यसअघि सरकारले चैत २४ गते मूल्यवृद्धि नियन्त्रण गर्न भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिएको थियो। तर त्यसपछि पनि अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दै जाँदा नेपालमा इन्धनको भाउ घट्न सकेको छैन।