नेपाल, भारत र भुटानका १२० अनुसन्धानकर्ता सहभागी हुने
काठमाडौं / लुम्बिनी : लुम्बिनी बौद्ध विश्वविद्यालय, लुम्बिनीमा आगामी चैत्र २३ देखि २५, २०८२ सम्म गहन पुनरुत्थानशील कृषिसम्बन्धी क्षेत्रीय सम्मेलन आयोजना हुने भएको छ। सम्मेलनमा नेपाल, भारत र भुटानबाट करिब १२० जना अनुसन्धानकर्ता तथा विज्ञहरू सहभागी हुने जनाइएको छ।
सम्मेलन लुम्बिनी बौद्ध विश्वविद्यालय, नेपाल जीन बैंक (NARC), WWN र WWF नेपालको संयुक्त आयोजनामा तथा रकफेलर फाउन्डेसनको आर्थिक सहयोगमा सञ्चालन हुन लागेको हो। आयोजकका अनुसार सम्मेलनको मुख्य उद्देश्य कृषि प्रणालीमा रूपान्तरणकारी परिवर्तन सम्बन्धी प्राज्ञिक विमर्शलाई सशक्त बनाउनु हो।
सम्मेलनमा स्वदेशी ज्ञान, कृषि–पर्यावरणीय दृष्टिकोण र पुनरुत्थानात्मक अभ्यासहरूको एकीकरणमार्फत दिगो, पुनरुत्थानशील र प्रकृतिमैत्री कृषिप्रणालीको विकाससम्बन्धी विषयलाई विशेष प्राथमिकता दिइनेछ। यसले नेपाल, भारत र भुटानका सरोकारवालाबीच ज्ञान आदान–प्रदान, क्षेत्रीय सहकार्य र नीतिगत प्रगतिलाई थप बल पुर्याउने अपेक्षा गरिएको छ।
आयोजकका अनुसार सम्मेलनले स्थानीय तथा रैथाने कृषि आनुवंशिक स्रोतहरूको संरक्षण, समुदायको क्षमता अभिवृद्धि, तथा जलवायु अनुकूल खाद्य प्रणाली विकासका लागि कार्यान्वयनयोग्य रणनीति निर्माणमा समेत योगदान पुर्याउनेछ। साथै, पर्या–आध्यात्मिक परम्परालाई नवप्रवर्तनशील कृषि मार्गका रूपमा उजागर गर्ने लक्ष्य पनि राखिएको छ।
CRAFTSWALS रूपरेखामा केन्द्रित छलफल
सम्मेलनले परस्पर अन्तरसम्बन्धित दस प्रमुख घटकहरू समेटिएको CRAFTSWALS रूपरेखालाई अंगीकार गरेको छ। यस अन्तर्गत संस्कृति, धार्मिक मूल्य, कृषि जैविक विविधता, वन जैविक विविधता, परम्परा, आध्यात्मिकता तथा ज्योतिष, पानी तथा नवीकरणीय ऊर्जा, वायु तथा वातावरण, भूमि र सामाजिक प्रणालीलाई एकीकृत रूपमा हेरिनेछ।
यो रूपरेखाले कृषि केवल खाद्य उत्पादन प्रणाली मात्र नभई स्वास्थ्य, पोषण, जैविक विविधता, वातावरण, संस्कृति र जीविकोपार्जनसँग प्रत्यक्ष जोडिएको व्यापक प्रणाली भएको दृष्टिकोणलाई स्थापित गर्छ। यही सन्दर्भमा किसान, अनुसन्धानकर्ता, नीतिनिर्माता, शिक्षाविद्, विकास साझेदार र निजी क्षेत्रका प्रतिनिधिहरूले कृषि क्षेत्रमा आवश्यक paradigm shift अर्थात् विचार र अभ्यासको रूपान्तरणकारी परिवर्तनबारे गहन छलफल गर्नेछन्।
सात विषयगत सत्रमा केन्द्रित हुनेछ सम्मेलन
“Regenerating Futures: Integrating Agrobiodiversity, Eco-Spirituality, and Climate-Resilient Agriculture” शीर्षकमा हुने मुख्य विमर्शले सम्मेलनलाई सात प्रमुख विषयमा केन्द्रित गर्नेछ। ती विषयहरू यसप्रकार छन्:
- गहन पुनरुत्थानशील कृषि : दिगोपनभन्दा पर
- कृषि जैविक विविधताको संरक्षण तथा दिगो उपयोग
- पर्वतीय कृषि : सहनशील भविष्यका लागि प्रकृति, जलवायु र साझा विश्वासको एकीकरण
- उच्च हिमाली क्षेत्रमा जलवायु अनुकूल कृषि अभ्यासहरू
- कृषि क्षेत्रमा पर्या–आध्यात्मिक तथा नव–मठीय अभ्यासहरू
- खाद्य, पोषण र स्वास्थ्यका लागि मूल्य शृङ्खला तथा बजार
- रिगाग्री : नीतिगत प्रावधान, अन्तराल र अवसरहरू
आधुनिक कृषि प्रणालीमाथि गम्भीर बहस हुने
सम्मेलनका प्रमुख बहसहरू आधुनिक कृषि प्रणालीका चुनौतीहरू वरिपरि केन्द्रित हुने बताइएको छ। उत्पादन वृद्धिमा भूमिका खेले पनि आधुनिक कृषि पद्धतिले माटोको क्षय, जैविक विविधताको ह्रास, पारिस्थितिक असन्तुलन, तथा परम्परागत ज्ञान प्रणालीहरूको क्षरण निम्त्याएको विषयमा सहभागीहरूले गम्भीर बहस गर्नेछन्।
सहभागीहरूले गहन पुनरुत्थानशील कृषिलाई केवल दिगोपन (sustainability) को सीमाभन्दा परको अवधारणा मानेर माटो, पानी, हावा र जैविक विविधताको पुनर्स्थापनामा केन्द्रित कृषि प्रणालीको आवश्यकतामा जोड दिने अपेक्षा गरिएको छ। यसले जलवायु सहनशील कृषि र सामाजिक प्रणालीहरूको पुनर्निर्माणतर्फ नयाँ सोच र नीति निर्माणको बाटो खोल्ने विश्वास लिइएको छ।
स्वदेशी ज्ञान र कृषि जैविक विविधतामा विशेष जोड
सम्मेलनमा कृषि जैविक विविधतालाई जलवायु अनुकूल, पोषण–संवेदनशील र दीर्घकालीन रूपमा सहनशील कृषि प्रणालीको आधारका रूपमा विशेष प्राथमिकताका साथ उठाइनेछ। यससँगै स्वदेशी ज्ञान, संस्कृति र पर्या–आध्यात्मिक मूल्यहरूलाई कृषि पुनरुत्थानको केन्द्रमा राखेर बहस अघि बढाइने जनाइएको छ।
आयोजकहरूले यस सम्मेलनलाई क्षेत्रीय ज्ञान–मञ्चका रूपमा परिकल्पना गरेका छन्, जसले वैज्ञानिक अनुसन्धान, नीतिगत संवाद, स्थानीय अभ्यास, र आध्यात्मिक–पर्यावरणीय दृष्टिकोणबीचको दूरी घटाउँदै कृषि क्षेत्रलाई नयाँ दिशातर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ।
नीति, अनुसन्धान र समुदायबीच सेतु बन्ने अपेक्षा
सम्मेलनले अनुसन्धान, नीतिनिर्माण, र समुदायस्तरीय अभ्यासबीच प्रभावकारी सेतु निर्माण गर्ने विश्वास लिइएको छ। विशेषगरी नेपाल, भारत र भुटान जस्ता हिमाली तथा पर्वतीय भूगोल भएका देशहरूका लागि जलवायु परिवर्तन, खाद्य सुरक्षा, जैविक विविधता संरक्षण र किसानको जीविकोपार्जनसँग सम्बन्धित साझा चुनौतीहरूको समाधान खोज्न यो सम्मेलन उपयोगी हुने अपेक्षा गरिएको छ।
लुम्बिनीमा हुन लागेको यो सम्मेलनलाई दक्षिण एसियामा कृषि पुनरुत्थान, जैविक विविधता संरक्षण र पर्या–आध्यात्मिक कृषि सोचलाई मुख्यधारमा ल्याउने महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।