काठमाडौं। अमेरिका–इजरायल र इरानबीचको युद्ध नयाँ मोडमा पुग्दै गर्दा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी गिरावट मात्रै आएको छैन अन्तर्राष्ट्रिय बजारमा सुन बिक्री गर्नेको भिड लागेर सुनको मूल्य नै क्र्यास नै त हुदैन ? भन्ने आशंका उब्जिएको छ।
इजरायलले इरानको दक्षिणी क्षेत्र पर्सस्थित प्राकृतिक ग्याँस प्रशोधन केन्द्रमा हवाई हमला गरेको थियो । इरानले जवाफी कारवाही स्वरुप कतारमा विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्याँस प्रशोधन केन्द्रलाई निशाना बनाएर सँगै विश्व बजारमा इन्धनको हाहाकार हुने निश्चितप्रायः भएको छ।
आजको युद्धसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११६ डलर माथि पुगेको छ र यसको मूल्य अझै बढेर २०० डलरसम्म पुग्ने प्रक्षेपण गरिएको छ । यदि यसो भयो भने विश्वअर्थतन्त्रमा एकै पटक भयंकर उतार चढाव आउने छ।
ग्याँस रिफाइनरीमा भएको हमला र यसले अर्थतन्त्रमा पार्नसक्ने प्रभावबारे गम्भिर समीक्षा सुरु भएसँगै सुनको मूल्यमा भारी गिरावट आएको हो । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ। सिंगापुरमा सुनको मूल्यमा ४.३२ प्रतिशतले गिरावट आई प्रतिऔंस २१४ डलर घटेर ४६१४ कायम भएको छ । विगतमा मूल्यबृद्धि भएको बेला छ हजार नाघेको सुनको मूल्य अहिले उच्च दरले घट्न थालेको छ । त्यस्तै चाँदीको मूल्य ७.७७ प्रतिशतले गिरावट आएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य उच्च अंकले घटेसँगै यसको मूल्य क्र्यास हुने हो कि भन्ने त्रासमा लगानीकर्ताहरु रहेका छन् । सबैभन्दा धेरै सुन अमेरिकासँग रहेको छ । अमेरिकाले इरान युद्धमा कडा चुनौति सामना गर्नुपरेपछि २०० अर्ब डलर ऋण खोजिरहेको छ । तर, उक्त ऋण तत्काल अमेरिकालाई कसैले दिने अवस्था छैन । यदि अमेरिकाले ऋण पाएन भने उसँग भएको ८१३३ टन सुन बिक्री गर्न सक्नेछ । अमेरिकाले एक हजार टन सुन बिक्री गर्ने हो भने आजको मूल्यमा १५० अर्ब डलर हात पार्न सक्नेछ ।
अमेरिका आर्थिक संकटमा फस्दै जाँदा उसको भण्डारमा भएको सुन बिक्री गर्न सक्ने भयले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको हो । यदि अमेरिकाले आफ्नो कोषमा भएको सुन बिक्री गर्ने वित्तिकै सुनको बजारमा व्यापक हलचल हुनेछ ।