एनआरएनए अध्यक्षमा डा. हेमराज शर्मा सर्वसम्मत हुने मार्ग खुल्यो


गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन प्रक्रियामा अध्यक्ष पदमा सहमति जुटेको छ। अध्यक्षका प्रत्याशी रविन बज्राचार्य ले अन्तिम समयमा आफ्नो उम्मेदवारी फिर्ता लिँदै डा. हेमराज शर्मा लाई समर्थन गरेपछि अध्यक्ष पदमा शर्मा सर्वसम्मत हुने अवस्था बनेको हो।

यसअघि अध्यक्षका अर्का प्रत्याशी रोविन शेरचन ले पनि संस्थाको एकता र महाधिवेशनको गरिमा जोगाउने उद्देश्यले आफ्नो उम्मेदवारी फिर्ता लिएर डा. शर्मालाई समर्थन गरेका थिए। शेरचनले बरिष्ठ उपाध्यक्ष पदमा मनोनयन दर्ता गराएका छन् भने बज्राचार्यले उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेका छन्।

महाधिवेशनको अन्तिम चरणमा सहमतिको वातावरण बलियो बन्दै गएको छ। पदाधिकारीका धेरैजसो पदहरूमा सहमतिका आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ। हालसम्म २० भन्दा बढी पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका छन् भने बाँकी पदमा पनि सहमतिका पहल जारी रहेका छन्।

लामो समयदेखि देखिँदै आएको नेतृत्व विवाद र गुटीय विभाजन समाधान गर्दै सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासलाई एनआरएनएभित्र सकारात्मक रूपमा हेरिएको छ। नयाँ नेतृत्वले विश्वभर रहेका नेपाली समुदायको हित, लगानी प्रवर्द्धन तथा नेपालको विकासमा गैरआवासीय नेपालीहरूको भूमिका अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।