चैतका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, व्यक्तिगत मुद्दति निक्षेपको औसत दर घट्यो


काठमाडौं।  नेपालका वाणिज्य बैंकहरूले चैत महिनाका लागि लागू हुने निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकहरूले प्रकाशित गरेको विवरणअनुसार व्यक्तिगत मुद्दति निक्षेपतर्फको अधिकतम औसत ब्याजदर फागुन महिनाको तुलनामा घटेको देखिएको छ।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले प्रत्येक महिना आफ्नो निक्षेप तथा कर्जाको ब्याजदर सार्वजनिक गर्नुपर्ने व्यवस्था छ। सोहीअनुसार बैंकहरूले चैत महिनाका लागि लागू हुने नयाँ ब्याजदर सार्वजनिक गरेका हुन्।

प्रकाशित तथ्याङ्कअनुसार फागुन महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर ४.५६ प्रतिशतविन्दु रहेको थियो। तर चैत महिनामा उक्त दर घटेर ४.४९ प्रतिशतविन्दुमा पुगेको छ। यससँगै औसत ब्याजदर ०.०७ प्रतिशतविन्दुले घटेको देखिएको छ।

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। ती बैंकहरूले दर घटाएपछि समग्र औसत दरमा पनि कमी आएको हो। बाँकी १४ वाणिज्य बैंकले भने फागुन महिनाकै ब्याजदरलाई यथावत् कायम राखेका छन्।

बैंकिङ क्षेत्रका जानकारहरूका अनुसार पछिल्लो समय बजारमा तरलता सहज हुँदै गएकाले बैंकहरूमा निक्षेप संकलनको दबाब कम भएको छ। यस कारण बैंकहरूले क्रमशः ब्याजदर घटाउने प्रवृत्ति देखिन थालेको उनीहरू बताउँछन्।

नेपालमा हाल बिस अोटा वाणिज्य बैंक सञ्चालनमा रहेका छन्।

#बैंकहरूले सार्वजनिक गरेका नयाँ ब्याजदरहरू चैत महिनाभर लागू हुनेछन्।