आधा सिलिन्डरमा ग्यास वितरण: उपभोक्तालाई राहत दिने प्रयास


“१४.२ केजी क्षमताको सिलिन्डरमा करिब ७.१ केजी ग्यास भरेर वितरण”

काठमाडौं । बजारमा देखिएको एलपी ग्यास अभावका बीच उपभोक्तालाई राहत दिने उद्देश्यले आधा परिमाणमा ग्यास वितरण सुरु गरिएको छ। नेपाल आयल निगमले लागू गरेको अस्थायी व्यवस्थाअनुसार विभिन्न ग्यास उद्योग तथा विक्रेतामार्फत १४.२ केजी क्षमताको सिलिन्डरमा करिब ७.१ केजी ग्यास भरेर वितरण भइरहेको हो।

यसैक्रममा काठमाडौंको कलंकीस्थित मालपोत कार्यालय अगाडि रहेको श्रीकृष्ण तथा बाबा, साईबाबा ग्यासको अफिस मार्फत उपभोक्तालाई आधा सिलिन्डरमा ग्यास वितरण गरिएको छ र अन्य कम्पनीको पनि अफिसमा वितरणका भएको छ। ग्यासको अभावका कारण उपभोक्तामा बढ्दो चिन्ता र बजारमा देखिएको भीडलाई व्यवस्थापन गर्न यस्तो व्यवस्था गरिएको बताइएको छ।

ग्यास आपूर्ति घटेको र उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास खरिद गरेर भण्डारण गर्ने प्रवृत्ति बढेपछि बजारमा कृत्रिम अभाव देखिएको निगमको भनाइ छ। यस्तो अवस्थामा उपलब्ध ग्यास धेरै घरपरिवारसम्म पुगोस् भन्ने उद्देश्यले आधा सिलिन्डरमा वितरण गर्ने निर्णय लागू गरिएको हो।

स्थानीय विक्रेताका अनुसार आधा परिमाणमा ग्यास वितरण गर्दा एउटै सिलिन्डर धेरै उपभोक्तामा बाँड्न सकिने भएकाले तत्कालका लागि केही राहत मिल्ने अपेक्षा गरिएको छ। यद्यपि कतिपय उपभोक्ताले भने बारम्बार ग्यास लिनुपर्ने अवस्था सिर्जना हुने भएकाले दीर्घकालीन समाधान आवश्यक रहेको बताएका छन्।

ऊर्जा आपूर्तिमा देखिएको अनिश्चितता, अन्तर्राष्ट्रिय बजारको प्रभाव तथा उपभोक्तामा बढ्दो मागका कारण ग्यास वितरण व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको विश्लेषण गरिएको छ। त्यसैले सम्बन्धित निकायले आपूर्ति व्यवस्थापन, वैकल्पिक ऊर्जा प्रयोग र बजार अनुगमनलाई प्रभावकारी बनाउनु आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ।

हाल लागू गरिएको आधा सिलिन्डर वितरण प्रणालीलाई अल्पकालीन व्यवस्थापन उपाय का रूपमा हेरिएको छ। दीर्घकालीन रूपमा भने आपूर्ति सुदृढीकरण र उपभोक्ता सचेतनासँगै ग्यास बजारलाई व्यवस्थित बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ।