स्थानीय जनप्रतिनिधिलाई प्रचारबाट टाढा रहन आयोगको कडा निर्देशन


* आचारसंहिता उल्लंघनबारे आयोग कडाइमा, जनप्रतिनिधिलाई प्रचार नगर्न आयोगले चेतावनी समेत दिएको छ।

निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा संलग्न नहुन पुनः सचेत गराएको छ। निर्वाचनको स्वच्छता, निष्पक्षता र पारदर्शिता कायम राख्ने उद्देश्यसहित आयोगले यस्तो अपिल जारी गरेको हो।

आयोगले हाल कार्यान्वयनमा रहेको निर्वाचन आचारसंहिता, २०८२ को पूर्ण पालनामा जोड दिएको छ। सबै राजनीतिक दल, उम्मेदवार र सरोकारवाला पक्षले आचारसंहितालाई गम्भीरतापूर्वक लिनुपर्ने उल्लेख गर्दै यसको अनुगमन निरन्तर भइरहेको जनाएको छ।

केही स्थानीय जनप्रतिनिधि आचारसंहिता विपरीत आफ्नै कार्यक्षेत्रभित्र दल वा उम्मेदवारको पक्षमा प्रचारमा उत्रिएको भन्ने उजुरी आयोगमा पुगेपछि यो विषयमा चासो बढेको हो।

आचारसंहिताको व्यवस्थाअनुसार स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू कार्यरत स्थानीय तहबाहेक अन्य क्षेत्रमा राजनीतिक प्रचारमा सहभागी हुन पाउने भए पनि सरकारी स्रोत–साधन प्रयोग गर्न नपाइने स्पष्ट छ। तर, आफू बहाल रहेको स्थानीय तहभित्र भने कुनै पनि दल वा उम्मेदवारको प्रचारमा संलग्न हुन कडाइका साथ रोक लगाइएको छ।

आयोगले निर्वाचन प्रक्रियालाई विश्वसनीय र मर्यादित बनाउन सबैलाई नियम पालना गर्न आग्रह गर्दै उल्लंघन भए कारबाही हुन सक्ने संकेतसमेत दिएको छ।