बाटो फराकिलो बनाउने निहुमा क्रिकेट रंगशालाको संरचनामा डोजर लगाए


ईकोनोमिक खबर, चितवन,

चितवनको रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा लगाइएको बार केही स्थानीयले भत्काएपछि निर्माणको काममा अवरोध गरेका छन ।
बुधबार बिहान डोजरसहित केही स्थानीय व्यक्ति आएर धुर्मुस–सुन्तली फाउण्डेशनका कर्मचारीहरुलाई धम्की दिई जस्तापाताले लगाएको बार भत्काइदिएका थिए । धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले विज्ञप्ति निकालेर तत्कालको लागि निर्माण कार्य स्थगित गरेको जानकारी गराउनुभएको छ । काम गर्ने अनुकुल वातावरण नभएकाले निमार्णका काम स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ । कर्मचारी, कामदारको जिउ ज्यान, भौतिक सम्पति आदिको सुरक्षाको विषयमा खतरा र गम्भीर परिस्थितिको सिर्जना भएको हुँदा यो सम्बन्धमा स्थायी समाधान र काम गर्ने वातावरण तयार नभएसम्मका लागि काम कारवाही स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ ।

रंगशाला निर्माणको काम सुरु गरेदेखि नै कार्य वातावरणमा असहजता सिर्जना गर्ने, विभिन्न अनुचित माग राख्ने र फाउण्डेशनका कर्मचारी तथा सहयोगीहरुलाई धम्क्याउने लगायतका अनुचित कार्य भैरहँदा पनि चितवनवासीको सम्मानमा चोट नपुगोस भनेर यस्ता गतिविधिलाई सामान्य रुपमा लिँदै काम अघि बढाइरहेको अवस्थामा अहिले सुरक्षा माथि नै चुनौती बढेपछि बाध्य भएर काम रोक्नु परेको फाउण्डेशनको भनाइ छ ।

घटना पश्चात भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, नागरीक समाजका प्रतिनिधि लगायत राजनैतिक दलका नेताको टोलीले स्थलगत अनुगमन गरेको छन। अनुगमनमा पुगेकाहरुले दोषीलाई तत्काल पक्राउ गरी कारबाही हुनुपर्ने माग गरेका छन । घटनाको चौतर्फी विरोध गरेका छन। दोषीलाई हदैसम्मको कारबाही गरी निर्माणको कामलाई प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने माग चितवनका बासिन्दाको छ ।

रंगशालाको सीमानामा पर्ने सडक बाटो फराकिलो बनाउने विषयलाई लिएर बनेको संरचनामा डोजर लागाएका हुन । कृषि तथा वन विश्वविद्यालयसँग साँध जोडिएका जग्गाधनीहरूले बाटो फराकिलो पार्नुपर्ने माग राखेका थिए । बस्ती क्षेत्रमा आफ्ना नाममा भएका जमिनमा भन्दा रंगशालाका लागि छुट्याइएको जग्गामा पर्नेगरी ३१ मिटर सडक बाटो बढाइनुपर्ने केही स्थानीयको माग रहेको थियो । रंगशालाका लागि विश्व विद्यालयले दिएको जग्गाको चौडाइ २५० मिटर मात्र रहेको र ३१ मिटरकोे सडक रंगशालाकै जग्गामा पर्नेगरी सडक बनाउदा रंगशाला बनाउन कठिन हुने थियो ।