नेपाल चाइल्ड स्टार–२०८२ को उपाधि ज्योति बम्जन र अयान तिवारीलाई


काठमाडौं। बाल प्रतिभाको पहिचान, आत्मविश्वास र सिर्जनात्मकता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित नेपाल चाइल्ड स्टार–२०८२ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको आयोजन आदर्श इन्टरटेन्मेन्ट हाउसले गरेको हो भने प्रमुख प्रायोजक ग्लोबल टच एजुकेशन कन्सल्टेन्सी रहेको थियो।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नानीतर्फ ज्योति बम्जन र बाबुतर्फ अयान तिवारी ले नेपाल चाइल्ड स्टार–२०८२ को उपाधि जित्न सफल भए। नानीतर्फ स्तुति खड्का प्रथम उपविजेता (First Runner-up) र आरोही कटवाल द्वितीय उपविजेता (Second Runner-up) घोषित भइन्। त्यस्तै बाबुतर्फ सिवान्सु जंग न्यौपाने प्रथम उपविजेता र कौशल बलायर द्वितीय उपविजेता बने।

कार्यक्रममा उत्कृष्ट अभिभावक सम्मान सरस्वती थापा लाई प्रदान गरिएको थियो, जसले बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा अभिभावकको योगदानलाई सम्मानित गरेको आयोजकले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ रेडियोकर्मी तथा पत्रकार हेम सुवेदी रहेका थिए। रेडियो आहा १०४.५ मेगाहर्ज का व्यवस्थापक निर्देशक आकृति सुवेदी विशेष अतिथिका रूपमा सहभागी थिइन्।
प्रतियोगिताको मूल्यांकन मिस्टर नेपाल तथा अभिनेता समर्पण जंग कार्की, गायक तथा गीतकार दिनेश क्षेत्री, गायक सागर सुनार तथा डा. मीना प्रधान सम्मिलित निर्णायक मण्डलले गरेका थिए।
यस अवसरमा वरिष्ठ पत्रकार डि.वि. पराजुली लाई विशेष सम्मान प्रदान गरिएको थियो भने सम्मानित मोडेल तथा अभिनेता सुमन अधिकारी लाई पनि सम्मान गरिएको थियो।

कार्यक्रममा सहभागी बालबालिकाहरूले प्रस्तुति, आत्मविश्वास, अनुशासन, अभिव्यक्ति र प्रतिभाको उत्कृष्ट प्रदर्शन गरेका थिए। साथै विभिन्न सब–टाइटलहरू प्रदान गर्दै उनीहरूको विशेष क्षमतालाई समेत सम्मान गरिएको थियो।

आयोजकका अनुसार नेपाल चाइल्ड स्टार जस्ता कार्यक्रमले बालबालिकाको सर्वाङ्गीण विकासमा योगदान पुर्‍याउँदै उनीहरूलाई राष्ट्रिय स्तरमा चिनाउने महत्वपूर्ण प्लेटफर्मको रूपमा स्थापित हुँदै गएको छ।