दक्षिण कोरियाले नेपालमा रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कार्यरत आफ्ना मानव संशाधन विभाग (एच–आरडी) का कर्मचारीको सुरक्षाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। सुरक्षाको अवस्था बिग्रिए कर्मचारी फिर्ता बोलाउनुपर्ने र त्यसपछि पुनः नेपालमा एच–आरडी कर्मचारी पठाउन नसकिने चेतावनी कोरियाले दिएको छ।
कोरियाको श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत मानव संशाधन हेर्ने उच्चस्तरीय टोलीले नेपाली दूतावासका अधिकारीसँग भेट गर्दै पछिल्ला आन्दोलनका कारण आफ्ना कर्मचारी असुरक्षित महसुस गरिरहेको स्पष्ट पारेको हो।
कोरियाले नेपालबाट ईपीएस प्रणालीमार्फत श्रमिक लैजान विशेष रूपमा एच–आरडी स्थापना गरेको छ। तर कोरियन भाषा तथा सीप परीक्षा उत्तीर्ण गरेका नेपाली श्रमिकहरूले रोस्टर अवधि थप्नुपर्ने मागसहित निरन्तर आन्दोलन गरेपछि अवस्था जटिल बनेको छ।
आन्दोलनका कारण कार्यस्थल वरपर तनाव बढ्दा कोरियाली कर्मचारीको सुरक्षामा प्रश्न उठेको कोरियाको निष्कर्ष छ।