काठमाडौं। नेपाली संगीत क्षेत्रकी अमर गायिका तारा देवीको स्मृतिमा श्रद्धा, सम्मान तथा सांगीतिक कार्यक्रम सम्पन्न भएको छ। तारा देवी स्मृति फाउन्डेसनको आयोजनामा तथा काठमाडौं महानगरपालिकाको सह–आयोजनामा कार्यक्रम भएको हो।
कार्यक्रममा तारा देवीको ठूलो तस्बिरमा माल्यार्पण सहितको कार्यक्रम शुरुआत गरिएको थियो भने विभिन्न सांस्कृतिक तथा सांगीतिक प्रस्तुति दिइएको थियो।
कार्यक्रममा वरिष्ठ कलाकार किरण खरेल, दिपक जंगम, संगीतकर्मी तथा महानगरपालिकाका भुतपुर्व प्रमुख विधासुन्दर शाक्यकाे विशेष अतिथिका रूपमा उपस्थिति रहेको थियो। प्रत्यक्ष संगीत प्रस्तुति मार्फत तारा देवीका कालजयी गीतहरू प्रस्तुत गरिँदा उपस्थित दर्शक भावुक बनेका थिए।
कार्यक्रममा नेपाली गीत–संगीतमा उल्लेखनीय योगदान पुर्याएका स्रष्टाहरूलाई सम्मान गरिएको थियो। सम्मानित व्यक्तित्वहरूमा गीतकार माधव प्रसाद खनाल, संगीतकार शिव शंकर मानन्धर र गायिका सङ्गीता राना प्रधान रहेका छन्।
कार्यक्रमलाई एभरेष्ट बैंक, मुक्तिनाथ विकास बैंक, नेपाल पर्यटन बोर्ड, नेपाल टेलिकम लगायतका संस्थाहरूले सहयोग गरेका थिए।
आयोजक तथा संस्थाका महासचिव साेभन सैंजुले तारादेवीको नेपाली संगीतमा पुर्याएको योगदान सधैं स्मरणीय रहने उल्लेख गर्दै यस्ता कार्यक्रमहरूले नयाँ पुस्तालाई प्रेरणा दिने विश्वासका साथ शुभकामना व्यक्त गर्नुभयाे।
