सरल नेपालको आयोजनामा ‘ अनलाइन सार्वजनिक वक्तृत्वकला ’ माघ ८ गते हुदै


निराज रानाभाट, नवलपुर। ‘युवा बोले राष्ट्र बोल्छ’ भन्ने दृष्टिकोण तथा ‘स्पष्ट, आत्मविश्वासी र जिम्मेवार युवा पुस्ता उत्पन्न गर्ने राष्ट्रिय अभियान’ भन्ने उद्देश्यले गण्डकी प्रदेशमा पर्ने नवलपुर जिल्लाको देवचुली नगरपालिका-१७, पिप्रहरमा रहेको पिप्रहर सामुदायिक होमस्टेमा राष्ट्रिय स्तरको‘ अनलाइन सार्वजनिक वक्तृत्वकला’ को सम्पन्न माघ ८ गते, आइतबार गरिने भएको छ ।

नेपालको वर्तमान सामाजिक, शैक्षिक तथा डिजिटल परिवेशमा युवा पुस्ताको भूमिका अत्यन्त महत्वपूर्ण बन्दै गएको र यसै आवश्यकता र समयसापेक्ष मागलाई मध्यनजर गर्दै सरल नेपालको आयोजना तथा लायन्स क्लब ३२५ आर क्लस्टर ३ को प्रस्तुतिमा राष्ट्रिय स्तरको ‘अनलाइन सार्वजनिक वक्तृत्वकला’ घोषणा गरिएको छ, जसले देशका सम्पूर्ण युवाहरूलाई एकीकृत डिजिटल मञ्च प्रदान गर्ने उद्देश्य राखेको छ । यो कार्यक्रम विशेष रूपमा युवाहरूलाई लक्षित गरेर आयोजना गर्न लागिएको हो । कार्यक्रम संयोजक समिर लामिछानेले भने‘युवा पुस्तामा विशाल सम्भावना छ, तर अभिव्यक्ति कमजोर हुँदा उनीहरूको क्षमता दबिन्छ । यो कार्यक्रमले उनीहरूको आवाज, प्रभाव र आत्मविश्वासको ढोका खोल्ने छ ।’

उक्त कार्यक्रममा देशका जुनसुकै स्थानबाट सहभागिता हुने छन्, भने समय र लागत दुवैको बचत, समान अवसर, डिजिटल प्रविधिको उपयोग, सहज प्रतिष्पर्धा वातावरणजस्ता फाइदाहरू प्रदान गर्ने छ । सार्वजनिक बोलाइमा चासो भएको, मोबाइल वा ल्यापटप, इन्टरनेट सुविधा भएको १५ देखि २९ वर्षका युवाहरूमा नेतृत्व, संचार सीप र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले तयार गरिएको यो कार्यक्रम युवा – मैत्री अभिव्यक्ति प्लेटफर्मका रूपमा अघि सारिएको आयोजकले जनाएको छ । उक्त कार्यक्रममा विषयको स्पष्टता, भाषिक कौशल, प्रस्तुतीकरण शैली, तर्कशक्ति, समय व्यवस्थापन र डिजिटल स्टेज म्यानरको आधारमा निर्णायकद्दारा मूल्यांकन हुने छ । ‘ अबको नेपालमा GEN-Z को भूमिका ’ भन्ने विषयमा भिडियो बनाउनु पर्ने छ, भने भिडियोको अवधि ३ मिनेटको हुनुपर्ने छ । त्यस्तै, उक्त कार्यक्रममा सहभागिताको लागि नेपाली युवा हुनु पर्ने, सार्वजनिक बोलाइमा चासो भएको, मोबाइल वा ल्यापटप, इन्टरनेट सुविधा भएको हुनु पर्ने छ । ‘ अनलाइन सार्वजनिक वक्तृत्वकला ’ मा प्रथम हुनेलाई ३० हजार रुपैयाँ, कदर – पत्र र मेडल, दोस्रो हुनेलाई २० हजार रुपैयाँ, कदर – पत्र र मेडल तथा तेस्रो हुने लाई १० हजार रुपैयाँ, कदर – पत्र र मेडलद्दारा पुरस्कृत गरिने छ ।

उक्त कार्यक्रमले देशभरिका युवाहरूलाई एउटै डिजिटल मञ्चमा ल्याउँदै एक चरणमै आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने छ । देशभरका युवाहरूलाई यस अभियानमा जोडिन आयोजकले आग्रह गरेको छ । उक्त कार्यक्रममा डिजिटल पार्टनरको रुपमा स्वस्तिक प्रोडक्सन, मिडिया पार्टनरको रूपमा जन अपडेट तथा ह्याप्पी एफ.एम. र सहकार्य साझेदारको रूपमा लियो क्लब अफ चितवन ग्रिन रहेका छन् । त्यसैगरी, कार्यक्रम व्यवस्थापन साझेदारको रूपमा मोक्षालय बहुउद्देशीय, सहयोगी संस्थाहरुको रूपमा युवा पहल: लुम्बिनी प्रदेश, युवा अभियान नेपाल, सामुदायिक विकास फाउण्डेशन नेपाल, मेडिकल पार्टनरको रूपमा जीवन सिटी अस्पताल प्रा.लि. ( कावासोती, नवलपुर ), अन्तर्राष्ट्रिय शिक्षा साझेदारको रूपमा लेड्रा कलेज, शिक्षा साझेदारको रूपमा लर्ड बुद्ध एकेडेमी अफ स्कूल अफ साइन्स एण्ड म्यानेजमेन्ट, परामर्श साझेदारको रूपमा निप्पोन एजुकेशनल सेन्टर र फार्मेसी साझेदारको रूपमा एसियन फार्मेसी रहेका छन् ।

राष्ट्रिय स्तरको ‘ अनलाइन सार्वजनिक वक्तृत्वकला ’ को नियम र भिडियो बनाउदा ध्यान दिनु पर्ने कुराहरु ;
१. भिडियो ( Landscape ) मा हुनु पर्ने छ र भिडियो गुणस्तर: न्यूनतम ( 720p ) बनाउनु पर्ने छ ।
२. भिडियो पठाउँदा गूगल लिंक ( https://saralnepal.com/public-speaking/ ) मा प्रदान गरिएको फर्म भरि पठाउनु पर्ने छ ।
३. भिडियो बनाउँदा अनिवार्य नेपाली भाषाको प्रयोग गर्नु पर्ने छ ।
४. कार्यक्रममा १५ देखि २९ वर्ष उमेर समूहका व्यक्तिहरु सहभागी हुन सक्ने छन् ।
५. प्रतिस्पर्धीहरुले अनिवार्य रुपमा आफ्नो वास्तविक नाम, ठेगाना र सम्पर्क नम्बर उल्लेख गर्नुपर्ने छ ।
६. प्रत्येक सहभागीहरुले आयोजक संस्थाद्दारा तोकिएको समयसीमा भित्र भिडियो पठाउनु पर्ने छ ।
७. पहिलो चरण :
पहिलो चरणमा प्राप्त भएका सम्पूर्ण भिडियोलाई मूल्यांकन गरी निर्णायक मण्डलले उत्कृष्ट २० जना छनोट गर्ने छन् ।
८. दोश्रो चरण :
दोश्रो चरणमा आयोजकले पहिलो चरणमा उत्कृष्ट २० जना सहभागीलाई छुट्टै भिडियो बनाउनका लागि विषयवस्तु प्रदान गर्ने छ र सहभागीहरुले तोकिए अनुसारको ३ मिनेटको भिडियो बनाई आयोजकलाई पठाउनु पर्ने छ । सहभागीहरुले आयोजकको आधिकारिक फेसबुक पेजमा सार्वजनिक भएको भिडियोलाई नै सेयर गर्नुपर्ने छ । अन्य माध्यमबाट सेयर गरिएको भिडियोलाई मूल्यांकनको आधार मानिने छैन ।
९. दोश्रो चरणको मूल्यांकनको आधार :
* भिडियोले सामाजिक संजालमा प्राप्त गरेको लोकप्रीयताको मूल्यांकन – ५०%
* निर्णायक मण्डलको निर्णय अनुसारको मूल्यांकन – ५०%
माथिको मूल्यांकनको आधारमा उत्कृष्ट ३ जना सहभागीहरु छनोट गरिने छ ।
१०. तेस्रो चरण :
तेस्रो चरणमा उत्कृष्ट छनोट भएका ३ जना प्रतिस्पर्धीहरुको नाम सार्वजनिक गरिने छ एवं छनोट भएकाहरुलाई कार्यक्रमको औपचारिक समापन समारोहमा बोलाई पुरस्कृत गरिने छ ।
११. भिडियोमा कुनै पनि अर्थमा अश्लील, घृणा फैलाउने, जातीय / धार्मिक रुपमा द्वेष सृजना गर्ने प्रवृत्तिको भएमा स्विकार गरिने छैन ।
१२. कसैको कुनै पनि संवेदनशील पक्षलाई आघात पुग्ने किसिमका अभिव्यक्तिहरुलाई कडाइका साथ निषेध गरिने छ ।