काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाले आफ्नो १२औं स्थापना दिवसलाई यस वर्ष विशेष ढंगले मनायो। हात्तीगौडास्थित नगरपालिकाको प्राङ्गणमा मंगलबार विहानैदेखि भीडभाड, रंग–रोगन, ताल–धुन र उत्साहले भरिएको थियो। नगरको १२ वर्षको यात्रालाई सम्झना गर्दै आयोजित शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम औपचारिकता र उत्सवको सुवाससँगै सम्पन्न भएको हो।
कार्यक्रमको अध्यक्षता नगर प्रमुख मिठाराम अधिकारीले गर्नुभयो भने बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री माननीय जयराम थापा प्रमुख अतिथि भएर उपस्थित हुनु भयो। राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कोटी, जिल्ला समन्वय समिति काठमाडौँकी उपप्रमुख शान्ति पाण्डे, नगर उपप्रमुख अनिता लामा, प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तोला लगायत विशिष्ट पाहुनाहरूको सहभागिताले कार्यक्रम झनै भव्य भएको थियो।
विभिन्न राजनीतिक दलका स्थानीय नेतृत्वले आफ्ना शुभकामना मन्तव्य दिए—रास्वपा नगर कमिटीकी कार्यवाहक सभापति राधा शाह, नेकपा बुढानीलकण्ठ नगर कमिटी अध्यक्ष भाइ नारायण श्रेष्ठ, र नेकपा एमाले नगर कमिटी अध्यक्ष प्रदीप डंगोलले नगरको काम, क्षमता र सम्भावनाबारे आ–आफ्नो धारणा व्यक्त गरे।
गणेश माध्यमिक विद्यालयका विद्यार्थीहरूको आकर्षक प्रस्तुति पछि पूर्व नगर प्रमुख उद्धव प्रसाद खरेलले नगरको विकास यात्राबारे स्मरणीय विचार राख्नुभयो। विविध सांस्कृतिक कार्यक्रम निरन्तर प्रस्तुत भइरहँदा दर्शक दीर्घामा ताल–हात रोकिएका थिएनन्।
यस वर्षको स्थापना दिवसमा नगरका विभिन्न क्षेत्रमा योगदान पुर्याउनेहरूलाई विशेष सम्मान गरिएको थियो। साइकल र्यालीमा समन्वय गर्ने संस्थादेखि लिएर करदाता, उपभोक्ता समिति, निर्माण व्यवसायी तथा सामाजिक संघ–संस्थासम्मलाई प्रमाणपत्र र सम्मान प्रदान गरियो। नृत्यमा सहभागी विद्यालयहरूलाई समेत प्रमाणपत्र प्रदान गरियो। नगरपालिकामा उत्कृष्ट सेवा दिएका कर्मचारीहरूलाई सम्मान तथा पुरस्कारले अभिभूत बनाइयो। जुगल नवगुरुकुलका कक्षा ७ का विद्यार्थीले प्रस्तुत गरेको गजल कार्यक्रममा अर्को आकर्षण बन्यो।
प्रमुख अतिथि मन्त्री जयराम थापाले बुढानीलकण्ठले पछिल्ला वर्षमा देखाएको प्रगतिलाई प्रशंसनीय भन्दै सरकार नगरसँग सधैं सहकार्यमा रहने प्रतिवद्धता व्यक्त गरे। सेवा प्रवाह, सुशासन र विकास कामको गति अझ तीव्र बनाउनुपर्नेमा उनले जोड दिए।
कार्यक्रमको समापन नगर प्रमुख मिठाराम अधिकारीले अतिथि तथा सहभागीप्रति आभार व्यक्त गर्दै नगरलाई अझ आधुनिक, सक्षम र नागरिकमैत्री बनाउने मौलिक योजनाबारे संकेत गर्दै समापन गर्नुभयो।
