अपि हिमाल गाउँपालिकामा ट्रेकिङ तथा पोर्टर गाइड तालिम सुरु


काठमाडौं। नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान (Nepal Mountain Academy) ले मङ्सिर १४ गते देखि नेपाल पर्यटन बोर्डको दिगो पर्यटन परियोजना (UNDP सँगको साझेदारी परियोजना) र अपिहिमाल गाउँपालिका, दार्चुलासँगको सहकार्यमा अपिहिमाल गाउँपालिका, दार्चुलाको खण्डेश्वरीमा ट्रेकिङ गाइड तालिम सुरु गरेको छ।

साथै मङ्सिर २१ गतेदेखि खण्डेश्वरीमा नै पोर्टर गाइड तालिम सन्चालन गर्ने तयारी गरेको छ।

दार्चुला जिल्लाका स्थानीय युवाहरुलाई आत्मनिर्भर र स्वरोजगार बनाउने, उनिहरुको नेतृत्व विकास गराउने र साहसिक पर्यटनमा स्थानीय युवाहरुको सहभागिता अभिवृद्धि गर्ने साथै जिल्लाका पर्यटकीय क्षेत्रको विकासमा योगदान दिने उद्धेश्यले यस तालिम सन्चालन गरेको हो तालिम संयोजक डोल्मा लामाले बताए।

यस तालिममा दार्चुला जिल्लाका अपिहिमाल गाउँपालिका, व्यास गाउँपालिका र महाकाली नगरपालिकाका ३० जना युवाहरुको सहभागिता रहेको छ।
१५ कार्यदिनको यस तालिमको उद्घाटन कार्यक्रम आइतबार अपिहिमाल गाउँपालिकाको उपाध्यक्ष देवकी देवी बोहोरा, प्रतिष्ठानको कार्यकारी निर्देशक अनिल किराती, प्रमुख प्रशासकीय अधिकृत इन्द्रबहादुर रावल, तालिम संयोजक तथा प्रशिक्षक डोल्मा लामा, वडाध्यक्षहरु रवीन्द्र बोहोरा र गगन लगायतको उपस्थितिमा सम्पन्न भयो।
अपिहिमाल गाउँपालिकाले पालिकाको पर्यटकिय संभावनालाई प्रवर्द्धन गर्न विभिन्न नीति तथा योजना तयार गरेको, अपिहिमाल (७१३२ मि) को आधार शिविर (३९००मि) सम्म ट्रेकिङ रुट (पदमार्ग) बनाइसकेको, विभिन्न निकायसँग सहकार्य तथा साझेदारीमा कार्यक्रमहरु सन्चालन गरिरहेको सन्दर्भमा प्रतिष्ठानले दिने यस तालिमको धेरै महत्व रहेको गाउँपालिकाका अध्यक्ष भक्त सिंह ठेकरे बोहोराले बताए।

कार्यक्रममा यो तालिमले स्थानीय युवाहरुको सशक्तिकरण र स्वरोजगार प्रवर्द्धन हुने साथै दार्चुला जिल्लाको पर्यटकीय संभावनालाई उजागर गर्ने विस्वास रहेकोले उपाध्यक्ष देवकी देवी बोहोराले खुशी व्यक्त गरे।
संस्कृति, पर्यटन तथा नगारिक उड्डयन मन्त्रालय अन्तर्गतको यस प्रतिष्ठानले काठमाडौमा त्रिभुवन विस्वविधालयको Bachelor in Mountaineering (BMS), Master of Adventure Tourism Studies (MATS) र MSc in Mountain and Mountaineering Science (MSc. MMS) गरि ३ ओटा शैक्षिक कार्यक्रम सन्चाल्न गर्दै आएको र ट्रेकिङ गाइड, स्कि गाइड, माउन्टेन बाइक गाइड, क्लाइम्बिङ सपोर्ट गाइड, पोर्टर गाइड लगायतका तालिमहरु मार्फत उच्च पर्वतारोहण तथा साहसिक पर्यटनको लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्दै आएको कार्यकारी निर्देशक अनिल किरातीले बताए।
मुलुकको समग्र अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान वृद्धि गर्न र स्थानीय विकासमा सहयोग गर्न सबै तहको सरकारले आफ्नो भूगोल र क्षमता अनुसारको पर्यटकीय कार्यक्रम गर्नु आजको आवश्यकता रहेको भन्दै किरातीले अपिहिमाल गाउँपालिकाको यो सहकार्यको लागि आधार पनि व्यक्त गरे।