रूसको सुदूर पूर्वी क्षेत्र कामचटका २०.७ किलोमिटर गहिराइमा ८.८ रिक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार, यो अहिलेसम्म मापन गरिएको विश्वकै छैटौं ठूलो भूकम्प हो।
कम्पनपछि प्रशान्त महासागरका विभिन्न भागहरूमा सुनामीको चेतावनी जारी गरिएको छ।
जापानमा १९ लाखलाई घर छाड्न अपिल –
रुसमा गएको शक्तिशाली भूकम्पको ठूलो असर जापानमा देखिएको छ । समुन्द्री तटमा आएको सुनामीका कारण जापानका १९ लाखभन्दा बढी मानिसहरूलाई घर छोड्न भनिएको छ। यसरी हट्न भनिएका मध्ये १० हजार ५०० मानिसहरू त होक्काइडोका रहेका छन्।
जापानको उत्तरी तटीय क्षेत्रहरू खाली गर्न र उच्च जमिनमा सर्न आग्रह गरिरहदा थुप्रै नेपाली समेत यो क्षेत्रमा रहेको पाइएको छ ।
हवाई विश्वविद्यालयकी भूभौतिकशास्त्री हेलेन जेनिस्जेव्स्कीका अनुसार यो भूकम्प ऐतिहासिक रूपमा डरलाग्दो मापनमा पर्छ, जसको तुलना सन् २०१० मा चिलीको बायोबियो र १९०६ मा इक्वेडरको एस्मेराल्डासमा गएको भूकम्पसँग गरिएको छ।
विश्वको अहिलेसम्मको सबैभन्दा शक्तिशाली भूकम्प सन् १९६० मा चिलीमा गएको ९.५ रिक्टर स्केलको थियो, जसमा १६५५ जनाको मृत्यु र २० लाख भन्दा बढी विस्थापित भएका थिए।
त्यसपछि १९६४ मा अलास्कामा ९.२ स्केलको भूकम्प, २००४ मा इन्डोनेसियामा ९.१ स्केलको भूकम्प (२ लाखभन्दा बढी मृतक), र २०११ मा जापानमा आएको ९.१ स्केलको भूकम्प (१५ हजार भन्दा बढी मृत्यु) रहेका छन्।
त्यस्तै, सन् १९५२ मा कामचटका क्षेत्रमा नै ९.० स्केलको भूकम्पले हवाईमा ठूलो सुनामी ल्याएको थियो, जसले लाखौं डलरको क्षति पुर्यायो।
रुसको अहिलेको ८.८ स्केलको भूकम्प पनि त्यही क्षेत्रमा पुनः दोहोरिएको हो, जसले भूगर्भीय चेतावनीलाई थप गम्भीर बनाएको छ। यस क्षेत्रमा मानिसको बसोबास कम रहेकोले गर्दा कम क्षति रहेकोे एजेन्सीले अनुमान गरेको छ।