टोकियो। जापानको पश्चिमी क्षेत्रमा रहेको एक कम्पनीका कार्यकारीको घरबाट २० किलो सुन र करिब २ करोड ५० लाख येन नगद चोरी भएको छ।
प्रहरीका अनुसार शनिबार बिहान ह्योगो प्रान्तको निशिनोमिया सहरस्थित ४४ वर्षीय कम्पनी कार्यकारीको घरमा चोरी भएको हो। घरमा जडान गरिएको सुरक्षा सेन्सरले राति २ः३५ बजे घुसपैठको संकेत दिएपछि सुरक्षा कम्पनीमार्फत प्रहरीलाई खबर गरिएको थियो।
प्रहरी घटनास्थल पुग्दा घरको एउटा ढोका तोडिएको अवस्थामा फेला परेको थियो। घटनाका बेला घरधनी घरमा थिएनन्।
चोरी भएको सुनको बजार मूल्य करिब ४० करोड येन रहेको प्रहरीले जनाएको छ। सुनसँगै घरबाट करिब २ करोड ५० लाख येन नगदसमेत चोरी भएको छ।