नेपाल राष्ट्र बैंकले २८ दिनका लागि तीस अर्ब रुपैयाँ तरलता खिच्ने


काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न २८ दिनका लागि तीस अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ।

नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार उक्त रकम निक्षेप संकलन उपकरणमार्फत बोलकबोलबाट उठाइनेछ। बोलकबोल शुक्रबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर (ओबीएसएस) मार्फत गर्न सकिनेछ।

उपकरणको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ। राष्ट्र बैंकले संकलन गर्ने मूलधन तथा ब्याज २०८३ असोज ३० गते (१६ अक्टोबर २०२६) भुक्तानी गर्नेछ।

यस उपकरणमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्नेछन्। सहभागी संस्थाले ब्याजदरका आधारमा बोलकबोल पेश गर्नुपर्नेछ। एउटै संस्थाले फरक–फरक ब्याजदरमा एकभन्दा बढी बोलकबोलसमेत पेश गर्न सक्ने व्यवस्था छ।

बोलकबोलमा सहभागी हुन न्यूनतम १० करोड रुपैयाँ प्रस्ताव गर्नुपर्नेछ। त्यसपछि १० करोड रुपैयाँकै गुणनमा थप बोलकबोल गर्न सकिनेछ। तर, सबै प्रस्तावको कुल रकम राष्ट्र बैंकले आह्वान गरेको ३० अर्ब रुपैयाँभन्दा बढी हुन पाउने छैन।

राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत बैंकिङ प्रणालीको अतिरिक्त तरलता तानेर अल्पकालीन ब्याजदर तथा तरलता व्यवस्थापन गर्दै आएको छ।