मिस नेपाल वर्ल्ड–२०२६को विजेता दीपमाला ढकाल


काठमाडौं । मिस नेपाल–२०२६ को प्रतिष्ठित उपाधि दीपमाला ढकालले जितेकी छन्। ललितपुरस्थित द प्लाजा, पुल्चोकमा सम्पन्न ग्राण्ड फिनालेमा उनलाई मिस नेपाल वर्ल्ड–२०२६ घोषणा गरिएको हो। यससँगै उनले आगामी मिस वर्ल्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेकी छन्।

यस वर्षको प्रतियोगितामा आर्या निशान्त मिस नेपाल इन्टरनेशनल–२०२६ तथा कशिश सुब्बा मिस नेपाल कोस्मो–२०२६ घोषित भए। प्रतियोगिताको आयोजना द हिडन ट्रेजरले गरेको थियो भने निर्णायक मण्डलमा मिस कोस्मो योलिन्डा लिंडक्विस्टसहित सौन्दर्य, सञ्चार, कला र सामाजिक क्षेत्रका विज्ञहरूको सहभागिता रहेको थियो।

बहुआयामिक व्यक्तित्वकी धनी विजेता

मिस नेपाल वर्ल्ड–२०२६ बनेकी दीपमाला ढकाल यसअघि मिस नेपाल हङकङ इन्टरनेशनल–२०२६ को उपाधि समेत जितिसकेकी छन्। उनी विश्वप्रसिद्ध लगानी व्यवस्थापन कम्पनी ब्ल्याकरक (BlackRock) मा इन्भेस्टमेन्ट स्ट्राटेजिस्टका रूपमा कार्यरत छिन्।

व्यावसायिक करियरसँगै उनी ब्ल्याक बेल्ट तेक्वान्दो खेलाडी, रनवे मोडल, अन्तर्राष्ट्रिय कार्यक्रम सञ्चालक (होस्ट) तथा म्याराथन धाविकाका रूपमा पनि परिचित छिन्। साथै, गैरआवासीय नेपाली संघ (एनआरएनए) को इतिहासमै सबैभन्दा कम उमेरमा निर्वाचित सदस्य बन्ने उपलब्धि पनि उनले हासिल गरेकी छन्।

क्यान्सर सचेतनालाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने लक्ष्य

हाल नेपाल क्यान्सर अस्पतालकी गुडविल एम्बास्डर रहेकी दीपमालाले मिस वर्ल्डको विश्वव्यापी मञ्चमार्फत क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने अभियानलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने लक्ष्य राखेको बताउँदै आएकी छन्। सामाजिक उत्तरदायित्वसँग जोडिएको यही अभियानलाई उनले आफ्नो प्रमुख प्राथमिकतामध्ये एक बनाएकी छन्।

परिवारको तीन दशक पुरानो सपना पूरा

दीपमालाको जितले उनको परिवारसँग जोडिएको तीन दशक पुरानो मिस नेपालको यात्रालाई नयाँ उचाइ दिएको छ। उनकी आमाले सन् १९९४ मा आयोजित पहिलो मिस नेपाल प्रतियोगितामा सहभागिता जनाएकी थिइन्। त्यसको करिब तीन दशकपछि छोरी दीपमालाले मिस नेपाल वर्ल्ड–२०२६ को ताज जित्दै परिवारको त्यो सपना साकार पारेकी हुन्।

नेपालको प्रतिनिधित्व गर्ने नयाँ अनुहार

सौन्दर्य, बौद्धिक क्षमता, नेतृत्व, व्यावसायिक दक्षता र सामाजिक उत्तरदायित्वलाई एकसाथ प्रस्तुत गर्दै दीपमाला ढकालले मिस नेपाल–२०२६ को उपाधि जितेकी हुन्। अब उनले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै आफ्नो सामाजिक अभियान र नेपाली प्रतिभालाई विश्वमञ्चमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।