काठमाडौं। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)को अध्यक्ष पदका लागि जिस्वान तुलाधरले आफ्नो उम्मेदवारी घोषणा गर्दै पर्यटन क्षेत्रको दिगो विकास, विविधीकरण र संस्थागत सुधारलाई मुख्य प्राथमिकतामा राखेका छन् ।
नाट्टाका वरिष्ठ उपाध्यक्षका रूपमा जिम्मेवारी सम्हालिसकेका तुलाधरले नेपालको पर्यटन उद्योगमा करिब २५ वर्षको अनुभव र नाट्टाभित्र १५ वर्षदेखि सक्रिय रूपमा काम गर्दै आएको उल्लेख गर्दै अब आफ्नो अनुभव, दृष्टिकोण र समावेशी नेतृत्वमार्फत संस्थालाई थप प्रभावकारी बनाउने समय आएको बताएका छन् ।
उनले आफ्नो उम्मेदवारीलाई अनुभव, नवप्रवर्तन र सामूहिक विकासका तीन प्रमुख आधारमा अघि बढाएका छन् । विश्व पर्यटन क्षेत्रमा तीव्र परिवर्तन भइरहेका बेला नेपालले पर्यटनलाई केवल पदयात्रा र पर्वतारोहणमा सीमित नराखी नयाँ तथा विविध पर्यटन उत्पादनको विकास र प्रवर्द्धन गर्नुपर्ने उनको धारणा छ ।
तुलाधरले नेपाललाई वर्षभरि विभिन्न देशका पर्यटक आकर्षित गर्न सक्ने बहुआयामिक गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् । त्यसका लागि खेल पर्यटन, वेलनेस पर्यटन, फोटोग्राफी पर्यटन, पहुँचयोग्य पर्यटन, सांस्कृतिक तथा जीवनशैली पर्यटन र ग्रामीण तथा सामुदायिक पर्यटनजस्ता नयाँ क्षेत्रलाई प्राथमिकताका साथ अघि बढाउने उनको योजना छ ।
उनले यस्ता विशेषीकृत पर्यटन क्षेत्रको विकास र अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धनका लागि नेपाल सरकारसँग छुट्टै बजेटको व्यवस्था गर्न पहल गर्ने बताएका छन् । नयाँ पर्यटन बजार पहिचान गर्दै नेपालका विविध पर्यटन सम्भावनालाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।
पूर्वाधार र नीतिगत सुधारमा जोड
तुलाधरले पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार र व्यवसायमैत्री नीति अपरिहार्य रहेको बताएका छन् । पर्यटन पूर्वाधारको सुधार, व्यावहारिक तथा लगानीमैत्री पर्यटन नीति निर्माण र पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको प्रमुख प्राथमिकताका रूपमा स्थापित गर्न सरकारसँग नजिकबाट सहकार्य गर्ने उनको प्रतिबद्धता छ ।
उनका अनुसार पर्यटक आगमन बढाउन मात्र नभई उनीहरूको बसाइ अवधि लम्ब्याउने, खर्च बढाउने र स्थानीय अर्थतन्त्रमा पर्यटनको योगदान विस्तार गर्ने गरी नीति तथा कार्यक्रम निर्माण गर्न आवश्यक छ । यसका लागि सरकार, निजी क्षेत्र र पर्यटन व्यवसायीबीच प्रभावकारी समन्वय हुनुपर्नेमा उनले जोड दिएका छन् ।
एउटै पर्यटन विकास करको प्रस्ताव
तुलाधरले नेपालको पर्यटन प्रवर्द्धन र दीर्घकालीन विकासका लागि एकीकृत पर्यटन विकास करको अवधारणा अघि सारेका छन् । उनले एकल तथा फिर्ता नहुने पर्यटन विकास करको व्यवस्था गरी त्यसबाट प्राप्त रकमलाई पारदर्शी रूपमा पर्यटन प्रवर्द्धन, गन्तव्य विकास र पर्यटन क्षेत्रको क्षमता अभिवृद्धिमा उपयोग गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
उनका अनुसार दिगो वित्तीय स्रोतको सुनिश्चितताले सरकार र पर्यटन क्षेत्रका सरोकारवालालाई दीर्घकालीन रूपमा लाभ पुर्याउनेछ । पर्यटन क्षेत्रको विकासका लागि आवश्यक लगानी निरन्तर गर्न यस्तो वित्तीय संयन्त्र प्रभावकारी हुने उनको विश्वास छ ।
पर्यटन क्षेत्रमा महिला नेतृत्वलाई प्राथमिकता
तुलाधरले पर्यटन क्षेत्रलाई थप सशक्त बनाउन महिलाको नेतृत्व विकासलाई पनि आफ्नो प्राथमिकतामा राखेका छन् । पर्यटन व्यवसायमा महिलाको सहभागिता र नेतृत्व बढाउन विशेष पहल गर्ने, महिला कर्मचारीलाई नेतृत्व तहमा पुग्न प्रोत्साहित गर्ने तथा नयाँ पुस्ताका लागि मार्गदर्शन र नेतृत्व विकासका अवसर सिर्जना गर्ने उनको योजना छ ।
उनले पर्यटन उद्योगमा महिलाको सहभागिता बढ्दै गए पनि नेतृत्व तहमा उनीहरूको प्रतिनिधित्व अझै पर्याप्त हुन नसकेको भन्दै अवसर र क्षमता विकासमा जोड दिनुपर्ने बताएका छन् ।
२४ घण्टाभित्र सदस्यका समस्या सम्बोधन गर्ने प्रतिबद्धता
नाट्टाको सचिवालयलाई थप आधुनिक, प्रभावकारी र सदस्यकेन्द्रित बनाउने तुलाधरको अर्को प्रमुख एजेन्डा रहेको छ । उनले नाट्टाका सदस्यले राखेका जिज्ञासा तथा समस्याको कम्तीमा २४ घण्टाभित्र प्रारम्भिक प्रतिक्रिया दिने प्रणाली विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।
त्यस्तै, सदस्यका समस्या समयमै समाधान गर्न स्पष्ट कार्यप्रणाली बनाउने, नाट्टाको वेबसाइटमा ‘लाइभ च्याट’ सुविधा सञ्चालन गर्ने, डिजिटल सेवाको विस्तार गर्ने र संस्थाको आन्तरिक तथा बाह्य सञ्चारलाई थप प्रभावकारी बनाउने उनको योजना छ ।
उनले नाट्टाको सचिवालयलाई पारदर्शी, जवाफदेही र सदस्यको आवश्यकताप्रति संवेदनशील बनाउने बताएका छन् । सदस्यहरूले संस्थाबाट छिटो, सहज र प्रभावकारी सेवा पाउने वातावरण निर्माण गर्नु आफ्नो प्राथमिकता हुने उनको भनाइ छ ।
सबै सदस्यलाई समान अवसर र प्रतिनिधित्व
तुलाधरले आफ्नो नेतृत्वलाई समावेशी बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । ठूला वा साना व्यवसायी, इनबाउन्ड वा आउटबाउन्ड व्यवसायमा संलग्न सदस्य तथा काठमाडौं उपत्यकाभन्दा बाहिरका पर्यटन व्यवसायी सबैलाई समान अवसर र प्रतिनिधित्व सुनिश्चित गर्ने उनले बताएका छन् ।
उनका अनुसार नाट्टा बलियो बन्न सबै सदस्यको आवाज सुन्ने, हरेक सदस्यको सम्मान गर्ने र नेपालका विभिन्न क्षेत्रलाई पर्यटन विकासको मूलधारमा जोड्ने वातावरण आवश्यक छ ।
तुलाधरले आफू केवल लामो समयको अनुभवका आधारमा अध्यक्ष पदमा उम्मेदवारी दिन नलागेको स्पष्ट पार्दै वर्तमान चुनौती बुझ्ने अनुभव र भविष्यका लागि नाट्टालाई तयार पार्ने दृष्टिकोणका साथ नेतृत्वमा आउन चाहेको बताएका छन् ।
उनले सामूहिक प्रयासमार्फत नाट्टालाई अझ बलियो र प्रभावकारी संस्था बनाउने, नयाँ पर्यटन अवसरको खोजी तथा विकास गर्ने, अर्थपूर्ण नीतिगत सुधारका लागि सरकारसँग पैरवी गर्ने र नेपाललाई विश्व पर्यटन बजारमा थप प्रतिस्पर्धी गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य अघि सारेका छन् ।
तुलाधरको उम्मेदवारी घोषणासँगै नाट्टाको आगामी नेतृत्व चयनलाई पर्यटन व्यवसायीहरूले चासोका साथ हेर्न थालेका छन् । उनको एजेन्डाले नेपालको पर्यटनलाई परम्परागत क्षेत्रबाट बाहिर विस्तार गर्दै नयाँ बजार, नयाँ उत्पादन र समावेशी नेतृत्वतर्फ अघि बढाउने लक्ष्य लिएको देखिन्छ ।
‘अनुभवले चुनौती बुझ्ने, समावेशी नेतृत्वले सबैलाई जोड्ने र दूरदृष्टिले नेपालको पर्यटन रूपान्तरण गर्ने’ लक्ष्यसहित तुलाधरले नाट्टा अध्यक्षका लागि आफ्नो उम्मेदवारी अघि सारेका छन् ।