स्थानीयस्तरमै राजस्व सेवा, टोखा नगरपालिकाको नयाँ पहल टोखाबाटै कर प्रशासनका सेवा उपलब्ध गराइने


काठमाडौं । टोखा नगरपालिकाले अब आन्तरिक राजस्व कार्यालयबाट प्रदान हुँदै आएका केही सेवा आफ्नै कार्यालयबाट उपलब्ध गराउने भएको छ।

नेपाल सरकारको २०८२ कात्तिक १७ गतेको निर्णयअनुसार आगामी २०८३ असार १ गतेदेखि यी सेवा नगरपालिकामार्फत सञ्चालन हुने भएका हुन्।

टोखा नगरपालिका, आन्तरिक राजस्व कार्यालय बालाजु र आन्तरिक राजस्व कार्यालय महाराजगञ्जबीच भएको समझदारीपत्रअनुसार नगरपालिकाबाट सेवा प्रवाह सुरु गर्न लागिएको हो। यसबाट नगरवासीलाई राजस्वसम्बन्धी सेवा लिन थप सहज हुने अपेक्षा गरिएको छ।

नगरपालिकाले दिएको जानकारीअनुसार अब व्यक्तिगत स्थायी लेखा नम्बर (पर्सनल प्यान) जारी गर्ने, नगरपालिका क्षेत्रभित्र दर्ता भएका व्यवसायलाई बिजनेस प्यान उपलब्ध गराउने सेवा टोखा नगरपालिकाबाटै प्रदान गरिनेछ।

त्यसैगरी मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ताका लागि सिफारिस गर्ने तथा दर्ता प्रमाणपत्र उपलब्ध गराउने, अन्तःशुल्क इजाजतपत्र लिनुपर्ने व्यवसायको नयाँ इजाजतपत्र र नवीकरणका लागि सिफारिस गर्ने सेवा पनि नगरपालिकाबाट सञ्चालन हुने जनाइएको छ।

यस्तै कर चुक्ता प्रमाणपत्रका लागि आवश्यक सिफारिस गर्ने तथा करदाताको दर्तासम्बन्धी विवरण संशोधन गर्ने कामसमेत अब स्थानीय तहबाटै हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले जानकारी दिनुभयो ।