टोखामा प्रथम चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न,


“काठमाडौं जिल्लामा आ.व. २०८२/८३ को पहिलो चौमासिक सार्वजनिक सुनुवाई गर्ने टोखा नगरपालिका पहिलो”

काठमाडौं । टोखा नगरपालिकाले प्रथम चौमासिकको सार्वैजनिक सुनुवाई सम्पन्न गरेको छ । बुधबार नगरपालिकाको प्राङगणमा गरिएको सार्वजनिक सुनुवाई काठमाडौं जिल्लाकै पहिलो भएको एक कर्मचारीले बताएका छन् । टोखा नगरपालिकाले ‘जनताको अदालत–जनताको दिन’को अवधारणासहित आयोजना प्रथम चौमासिक सार्वजनिक सुनुवाइमा नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा नगर प्रमुख प्रकाश अधिकारी, उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईसहित स्थानीय सरोकारवाला तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

नगर प्रमुख अधिकारीले नगरको समग्र प्रगतिबारे १२ बुँदे प्रतिवेदन प्रस्तुत गर्दै विगतमा अतिक्रमित करिव १४ सय रोपनी सार्वजनिक जग्गा फिर्ता ल्याइएको जानकारी दिएका थिए ।

खोलाको दुवैतिर करिब ९ किलोमिटर क्षेत्र सार्वजनिक जग्गा खाली गराउने काम निरन्तर भइरहेको उल्लेख गरे । सडक तथा खानेपानीतर्फ ८५ प्रतिशत काम सकिएको समेत बताए ।