एनएमबि बैंकको नाफामा ४६ प्रतिशत वृद्धि


काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट वित्तीय प्रदर्शन गर्दै नाफा र प्रमुख सूचकांकमा उल्लेख्य वृद्धि हासिल गरेको छ।

बैंकको प्रकाशित वित्तीय विवरण अनुसार, गत वर्षको खुद नाफा ४६.२२ प्रतिशतले बढेर ३ अर्ब २८ करोड १७ लाख ९१ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष बैंकले २ अर्ब २४ करोड ४३ लाख ९५ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी ११.१४ प्रतिशतले बढ्दै ८ अर्ब २ करोड ८ लाख ९४ हजार रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ७ अर्ब २१ करोड ६७ लाख ४३ हजार रुपैयाँ थियो ।

त्यसैगरी, खुद शुल्क तथा कमिसन आम्दानी २१.३० प्रतिशत वृद्धि भई २ अर्ब १८ करोड १७ लाख ५१ हजार रुपैयाँ पुगेको छ।

कुल सञ्चालन आम्दानी १४ प्रतिशत वृद्धि भई १८ अर्ब ८८ करोड १६ लाख ६२ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा उल्लेख्य रूपमा ६४.४६ प्रतिशत बढेर ५ अर्ब ३५ करोड २ लाख ७ हजार रुपैयाँ पुगेको छ।

वितरणयोग्य नाफाको क्षेत्रमा एनएमबि बैंकले ठूलो सुधार गरेको छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ऋणात्मक ९ करोड २८ लाख ४१ हजार रुपैयाँ रहेकोमा, यो वर्ष १ अर्ब ९० करोड ९४ लाख ४७ हजार रुपैयाँमा पुगेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता १०.४० प्रतिशत भएको छ।

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख ६ हजार रुपैयाँमा पुगेको छ भने जगेडा कोष १५.२० प्रतिशतले बढ्दै १२ अर्ब ३२ करोड ५५ लाख ८८ हजार रुपैयाँमा पुगेको छ।

निक्षेप संकलनमा २५.४४ प्रतिशत वृद्धि भई यो रकम २ खर्ब ८० अर्ब ९२ करोड ६६ लाख ६८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यो २ खर्ब २३ अर्ब ९४ करोड २५ लाख ९२ हजार रुपैयाँ थियो । त्यस्तै, कर्जा लगानी २७.९१ प्रतिशत वृद्धि भई २ खर्ब २९ अर्ब ११ करोड ९३ लाख ४२ हजार रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष १ खर्ब ९४ अर्ब ३० करोड ४१ लाख ८६ हजार रुपैयाँ मात्र थियो ।

नाफामा वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी ५.६५ रुपैयाँ बढेर १७.८७ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १७६.८१ रुपैयाँ रहेको छ भने मूल्य-आम्दानी अनुपात १५.१० गुणा रहेको छ ।

तर, जोखिम सूचकांकको रूपमा बैंकको खराब कर्जा भने बढेको छ । अघिल्लो वर्ष ३.४० प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर ३.७२ प्रतिशतमा पुगेको छ । बैंकको रिटर्न अन इक्विटी १०.६६ प्रतिशत रहेको छ । एनएमबि बैंकका अनुसार, नाफा, निक्षेप र कर्जा लगानीमा देखिएको उच्च वृद्धिले बैंकको बजार प्रतिस्पर्धा क्षमता अझ मजबुत भएको छ ।