कलैया। आम जनता पार्टी (आजपा)का सचिवालय सदस्य रञ्जु साहले तराई मधेसका किसानसंग प्रधानमन्त्री केपी शर्मा ओलीले हेलचक्रयाइँ गरेको आरोप लगाएकी छन्।
प्रधानमन्त्री ओलीले मधेसका जिल्लामा पाँच सय डिपबोरिङ गाडने आश्वासन दिएपनि १०औँ दिन बित्दा समेत सर्वसधारणले डिपबोरिङ पाउँन सकेका छैनन् ।
जलसंकट भएर तराई मधेसका पानीको हाहाकार छ । खानेपानीदेखी किसानहरुले खेतीपाती गर्नका लागि पानी नपाउँदा धानबाली संकटमा परेको बताउदै आजपा नेतृ साहले सरकारले समस्याको समाधानका लागि ध्यान नदिएको बताएकी छन् । आजपाद्धारा बाराको विश्रामपुरमा आज आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।
‘प्रधानमन्त्रीजी तपाईको सुख्खाक्षेत्र घोषाण के भयो ? तपाईले मधेसमा पाँच सय डिपबोरिङ गाडछु भन्नुभएको थियो । तर आज १० दिन भयो, त्यो डिपबोरिङ कहाँ–कहाँ गाडनुभयो ? डिपबोरिङ बारेमा तपाईकै सरकारी निकायलाई थाहा छैन । न सिचाइलाई थाहा छ, न त खानेपानी मन्त्रालयलाई थाहा छ,’ आजपा नेतृ साहले भनिन्, ‘न योजना छ, न बजेट छुट्याउनुभएको छ। मधेसी जनतासंग यस्तो भद्धा मजाक किन ? तपाई त विदेशबाट महंगो मिनिरल वाटर मगाएर खानुहुन्छ। तर मधेसका जनताले साधारण पानी नपाएर तडपाउने काम किन गर्नुहुन्छ?’
आश्वासन नभई पीडित जनतालाई राहत प्याकज दिन उनले माग गरेकी छन्। अहिले मधेसमा खानेपानी नपाएर जनता मारमा परेका छन्। चापाकल सुकेको छ, इनार सुकेको छ तर पनि सरकारले यस्तो गम्भिर बिषयमा ध्यान नदिइ जनताको भावनासंग खेलवाड गरिरहेको उनले बताएकी छन्।
सरकारले मधेश प्रदेशमा जलसंकट देखिएपछि मधेशका आठ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो।
खानेपानीदेखि खेतीकिसानीका लागि आवश्यक पानीको हाहाकार भएपछि विपद् संकटग्रस्त घोषणा भएको मधेशका गाउँमा भने कुनै राहत नपुगेको आम महिला मोर्चाका उपाध्यक्ष समेत रहेकी नेतृ साहले जनाएकी छन्।