‘जय श्री शम्भो धर्मकाटा’को नाममा १५ वर्षदेखि करछली


ललितपुर। नेपाली कांग्रेस पार्टी कार्यालय पश्चिम गेटसँगै सञ्चालन हुँदै आएको ‘जय श्री शम्भो धर्मकाटा’ले गत १५ वर्षदेखि राज्यलाई कर तिर्नु पर्ने रकम नतिरी दैनिक लाखौंको आम्दानी आर्जन गर्दै आएको खुलासा भएको छ।

धर्मकाटाले करपाटी नराखी हरेक गाडीबाट एकपटकको लागि १०० रुपैयाँ असुल्दै दैनिक २५ हजारदेखि ३० हजार रुपैयाँसम्म संकलन गर्ने गरेको स्थानीयवासीले बताएका छन्। तर, सो आम्दानीबापत राज्यलाई १ रुपैयाँ पनि कर नतिरी आयकरको व्यापक छली भइरहेको आरोप छ।

यस अवैध शुल्क असुलीका कारण सानेपा–बल्खु रिङरोडदेखि धोबिघाट–नयाँ बाटोसम्मको सडकमा गाडीको चाप अत्यधिक बढेको छ।

पैदल यात्रुहरूलाई सडकमा हिँड्न समेत समस्या हुने, सवारी साधनको भीडले वातावरणमा धुलो र धुँवाको प्रदूषण बढाउने काम भएको गुनासो स्थानीयवासीले गरेका छन्।

बिल माग्दा धर्मकाटा प्रोपाइटर शम्भु जैसवाल उल्टै आक्रोशित भई जथाभावी बोल्ने गरेको घटना पनि बाहिर आएको छ।

करछली, अवैध शुल्क असुली र स्थानीयवासीलाई सास्ती दिएको आरोपमा सम्बन्धित निकायले छानबिनको माग गर्दै जनताले तत्काल कारबाहीको माग गरेका छन्।