
काठमाडौं। पुष्प व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘ स्वच्छ वातावरण तथा आर्थिक समृध्दिका लागि पुष्प व्यवसाय ’ भन्ने मूल नारा साथ चैत १ गतेदेखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘ २५ औं फ्लोरा एक्स्पो २०८० ’ आयोजना हुने भएको छ।
फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा सञ्चालन हुने एक्स्पोमा ७३ वटा स्टल रहने बताइएको छ। व्यवसायीक स्टल ६० वटा, सूचनामूलक स्टल ८ वटा, प्रतिस्पर्धा स्टल १ वटा, सेल्फी स्टल १ वटा, फूड स्टल १ वटा र ल्उाण्डस्केपिङग् स्टल ३ वटा राखिने फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ।
एक्स्पोले विभिन्न प्रकारका फूल बिरुवाको एकै थलोमा अवलोकन तथा खरिद गर्ने अवसरको साथै आधुनिक खेती प्रविधिबारे सूचना आदानप्रदान गर्ने अवसर दिने फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ।
एक्स्पो बिहान १०ः०० बजेदेखि साँझ ०५ः३० अवलोकन गर्ने पाउने छन् । एक्स्पोमा मौसमी फूल फूल्ने तथा नफूल्ने आलंकारिक बिरुवा, कट फ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो बीउबिजन, ग्रीनहाउस कृषि औजार, उपकरण, प्याकेजिंगका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रविधी आधुनिक पुष्प खेती प्रविधि र जैविक विषादी लगायतका प्रदर्शनी तथा बिक्री कक्षमा राखिने आयोजकले जनाएको छ ।
पुष्प व्यवसाय संचालन गर्न चाहने, घर आँगन तथा बगैंचा सजाउन चाहने, फूल बिरुवा प्रति अभिरुचि राख्ने तथा यस सम्बन्धि ज्ञान हासिल गर्न चाहनेहरु सबैको निम्ति २५ औं फ्लोरा एक्स्पो उपयोगी हुनेछ। एक्स्पोमा नर्सरी व्यवसायीद्वारा उत्पादित आलङ्कारिक फूल बिरुवा, मौसमी फूल, स्टल सजावट, बगैंचा सजावट, पुष्प सजावटजस्ता उत्कृष्ट विधामा प्रतिस्पर्धा गराइ नगद, सिल्ड तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ।
एक्स्पोमा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपूर्तिकर्ता कम्पनी, व्यवसायीहरु तथा विभिन्न संघसंस्थाहरुको सहभागिता रहने छ। एक्स्पोमा पुष्प उद्यमी र व्यवसायी तथा कम्पनीहरुको लागि पुष्प तथा पुष्पजन्य बस्तुको आफ्नो बजार बिस्तार गर्न, सूचना तथा नयाँ प्रविधिको क्षेत्रमा भएको प्रगतिको बारे ग्राहकलाई जानकारी गराउन, ग्राहकका आवश्यकता थाहा पाउन, बजार सर्वेक्षण गर्न, पुष्प सम्बन्धि नयाँ नयाँ विकास भएका उत्पादनहरुलाई सार्वजनिक गर्ने र ग्राहक उपभोक्ताहरुसग आपसी सम्बन्ध स्थापना गर्न अवसर हुने छ ।