
काठमाडौँ । मुख्यसचिव एकनारायण अर्यालले मंगलबार वैदेशिक रोजगार विभागकाे छड्के अनुगमन तथा निरीक्षण गरेका छन्।
अनुगमनका क्रममा सेवाग्राहीसँग प्रत्यक्ष संवाद गरी उनीहरूका समस्या बुझ्ने र केहीको काम तत्काल सम्पादन गर्ने काम भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शासकीय क्षेत्र हेर्ने सचिव गोविन्द बहादुर कार्कीको सहभागितामा भएको अनुगमनमा मुख्य सचिव अर्यालले वैदेशिक रोजगार विभागलाई श्रम अनुमति प्रक्रियाका समस्याहरू तत्काल समाधान गर्न, सूचना प्रणालीलाई सेवाग्राहीमैत्री बनाई अन्य प्रणालीसँग जोड्न, जोखिममा परेका र ठगिएका नागरिकको राहत तथा उद्धारमा तीव्रता दिन र ठगीमा परेकाहरूलाई रकम फिर्ता गर्न नेपाल प्रहरीसँग समन्वय गरी कानुनी प्रक्रिया अघि बढाउन निर्देशन दिए।
वैदेशिक रोजगार विभाग पछि राहदानी विभाग र उद्योग विभागको सेवा प्रवाह र सुशासनको अवस्थाबारे अनुगमन तथा निरीक्षण गरेका छन्।
यस्तै, राहदानी वितरण प्रक्रियालाई छिटो, छरितो र सहज बनाउन, विदेशी रोजगार र अध्यागमन प्रणालीबीच राहदानी तथ्यांक जोड्न तत्काल काम सुरु गर्न निर्देश भएको छ।
उद्योग विभागलाई निजी क्षेत्रलाई सहज सेवा दिन सबै सेवा प्रविधिमा आधारित बनाउन, उद्योग, वाणिज्य र कम्पनी प्रशासनलाई एकीकृत र प्रविधिमैत्री बनाई चुस्त सेवा प्रवाह गर्न, औद्योगिक सम्पत्ति व्यवस्थापन पारदर्शी बनाउन र एकल विन्दु सेवा केन्द्रमार्फत उद्योगी तथा लगानीकर्ताले सहजै सेवा पाउने व्यवस्था गर्न निर्देशन दिइएको छ।
लगानीकर्ता र निजी क्षेत्रले भोगेका कठिनाइहरू तत्काल समाधान गर्न सम्बन्धित निकायलाई कार्य थाल्न मुख्यसचिवले जोड दिएका छन्।