अटो क्षेत्रको समस्या र चुनौती, अर्थमन्त्री महतलाई बुझाए नाडाको १७ बुँदे सुझाव


ईकोनोमिक खबर, काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका केन्द्रीय पदाधिकारीहरूले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई १७ बुँदे सुझाव पत्र बुझाएका छन् ।

मङ्गलवार अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको नाडाको प्रतिनिधिमण्डलले अटो मोबाइल क्षेत्रले भोगिरहेको वर्तमान समस्या र चुनौतीका बारेमा अवगत गराउँदै व्यावसायिक वातावरण सहज बनाउन र स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न आग्रह गरेको हो ।

अध्यक्ष चौधरीले सुस्ताएको नेपालको अटो मोबाइल व्यवसायलाई गतिशील बनाउन आवश्यक पर्ने नीतिहरू ल्याउन अर्थमन्त्री डा. महतलाई आग्रह गरेका छन् । हाल समस्याको रूपमा रहेको अटो कर्जामा ५० प्रतिशतको क्याप, १२५ प्रतिशतको जोखिम भारलाई १०० प्रतिशतमा घटाउनुपर्ने र २५ लाखको सीमालाई ५० लाखसम्म पु-याउनुपर्ने नाडाले अर्थमन्त्रीसँग माग राखेको छ ।

यसैगरी सवारी कर महसुलको अस्थिर नीतिका कारण व्यवसायीहरूले हैरानी व्यहोरिरहेको बताउँदै नाडाले आगामी बजेटमा सवारी कर नीति स्थिर राख्न समेत अर्थमन्त्रीसँग माग गरेको छ ।