नेपाल माउन्टेन एकेडेमीको २३औं विशेष वार्षिकोत्सव: २३ वर्षको गौरवपूर्ण यात्रामा नयाँ प्रतिबद्धता


काठमाडौं, नेपालको पर्वतारोहण शिक्षा र प्रशिक्षणको अग्रणी संस्था नेपाल माउन्टेन एकेडेमी (NMA) ले आफ्नो २३औं विशेष वार्षिकोत्सव उल्लासपूर्वक सम्पन्न गरेको छ।

काठमाडौंको इन्द्रेणी फुडल्याण्ड, बानेश्वरमा आयोजित कार्यक्रममा एकेडेमीको विगत यात्रालाई स्मरण गर्दै आगामी दिनहरूमा अझ सशक्त, व्यवस्थित र दिगो विकासतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय बद्री प्रसाद पाण्डेले नेपालको पर्यटन क्षेत्रमा पर्वतारोहणको महत्वलाई जोड दिँदै नेपाल माउन्टेन एकेडेमीले उत्पादन गर्ने दक्ष जनशक्तिले देशको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले एकेडेमीको पूर्वाधार विकास, बजेट व्यवस्थापन, र प्रविधि समायोजनका लागि मन्त्रालयबाट आवश्यक सहयोग गर्ने आश्वासन दिनुभयो।

नेपाल माउन्टेन एकेडेमीका कार्यकारी प्रमुख अनिल किराँतीले एकेडेमीको २३ वर्षको गौरवपूर्ण यात्रालाई ऐतिहासिक पाटोका रूपमा स्मरण गर्दै, संस्थाले पहिलोपटक विशेष वार्षिकोत्सव आयोजना गरेको जानकारी दिनुभयो।

उहाँले विगतमा योगदान दिने सम्पूर्ण पूर्व अध्यक्ष, पदाधिकारी, विद्यार्थी, कर्मचारी, र समर्पित व्यक्तिहरूलाई धन्यवाद ज्ञापन गर्दै भविष्यमा एकेडेमीको विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो।

कार्यक्रममा हिमाल आरोहणको साहसिक यात्रामा सहभागीहरूलाई सम्मान गरिएको थियो। हिमलुङ हिमाल सफलतापूर्वक आरोहण गर्ने टोलीलाई सम्मान प्रदान गरिनुका साथै लोबुचे हिमाल सफलतापूर्वक आरोहण गर्ने विद्यार्थीहरूलाई सम्मानपत्र प्रदान गरियो।

कार्यक्रममा पहिलो पटक उत्कृष्ट कर्मचारीको रुपमा रिता आचार्यलाई नगदसहित सम्मान गरियो।

त्यस्तै, उत्कृष्ट समिट सम्मान (NMA Award) अलेक्जेन्डर लामालाई प्रदान गरिएको थियो।

कार्यक्रममा पर्यटन क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न क्षेत्रका व्यक्तित्वहरूले हिमाल आरोहण र पर्यटन प्रवर्द्धनका विविध पक्षमा आफ्ना विचार राखेका थिए।

पर्वतारोहणमार्फत नेपालको पर्यटन क्षेत्रमा कसरी नयाँ अवसरहरू सिर्जना गर्न सकिन्छ भन्ने विषयमा पनि विशेष छलफल भएको थियो।

कार्यक्रमको सञ्चालन क्याम्पस प्रमुख शिवप्रसाद जैशीले गर्नुभएको थियो।

एकेडेमीका विद्यार्थी, शिक्षक, कर्मचारी, पर्यटन व्यवसायी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा एकेडेमीको भावी योजना, नीतिगत सुधार र अन्तर्राष्ट्रिय स्तरमा संस्थाको पहिचान विस्तार गर्नुपर्ने विषयमा गहन छलफल भएको थियो।