नयाँ गभर्नर नियुक्त हुने चर्चाका बीच उच्च अंकले बढ्यो शेयर बजार,


काठमाडौं । शेयर बजार आज उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४९.०९अंकले उचालिएको हो । १.८६ प्रतिशतले बजार बढेसँगै नेप्से २६७७.४५ अंकमा पुगेको छ ।  बजार उचालिएसँगै सबै समूहमा हरियाली छाएको छ ।

आज ३१० कम्पनीका १ करोड ६८ लाख ८८ हजार ४ सय ५९ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ३१ करोड २७ लाख ९० हजार १ सय ९६.१७ रुपियाँ बराबरको कारोबार भएको छ । लामो समयदेखि रोकिएको गभर्नर आज नियुक्त हुन सक्ने संभावनाका बीच शेयर बजारमा पनि उत्साह देखिएको छ ।

विभिन्न ५ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । सिन्धु विकास बैंक, सप्तकोशी विकास बैंक, ओम मेगाश्री फर्मास्यूटिकल्स, राप्ती हाइड्रो र ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले क्रमशः १०, १०, ९.९९, ९.९७ र ९.९७ प्रतिशतले नाफा कमाएका छन् ।

आज राधी विद्युत कम्पनीको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ४१ करोड ८० लाख १ सय ५१.२० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

साताको पहिलो दिन आइतबार २.७९ प्रतिशतले बजार घट्दा ८ अर्ब ४१ करोड रुपियाँ र हिजो सोमबार १९.३० अंकले बजार बढ्दा ७ अर्ब ३५ करोड रुपियाँको कारोबार भएको थियो ।